अरुण तेस्रोको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका– ५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । टिपरको ठक्करबाट मकालु– ३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश बुढाथोकीले जानकारी दिए ।

शुक्रबार बिहान साढे ९ बजे खाँदबारी किमाथांका सडक खण्डको फ्याक्सिन्दा बेशीमा भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट खड्गकी श्रीमती प्रेम कुमारी राईसमेत गम्भीर घाइते भएकी छन् ।

मृतक राई राजारानी आधारभूत विद्यालयका कार्यालय सहयोगी हुन् भने उनकी श्रीमती सोही विद्यालयकी बाल शिक्षिका हुन् । मोटरसाइकललाई ठक्कर दिने टिपर र चालक काभ्रेको नवबुद्ध नगरपालिका –६ का ३० वर्षीय सुवास चौलागाईंलाई नियन्त्रणमा लिएको संखुवासभा प्रहरीले जनाएको छ ।

मृतक राईका श्रीमान श्रीमती दुवैजना गाउँपालिका केन्द्रको नुममा तालिममा सहभागी हुन आउदैं गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गम्‍भीर घाइते प्रेम कुमारीलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौं लग्ने तयारी भइरहेको राजारानी आधारभूत विद्यालयका शिक्षक हित कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचार