काठमाडौं महानगरका १८ सय कर्मचारीको सोझै एक तह बढुवा, थपियो साढे तीन करोड अतिरिक्त भार



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना सबै स्थायी दरबन्दीका कर्मचारीको एक तह र स्तर बढुवा गरेको छ । महानगरपालिकाले कर्मचारी समायोजन ऐन २०७७ जारी गर्दै श्रेणीविहीन र सबै श्रेणीका कर्मचारीको समायोजनको निर्णय गरेको हो ।

महानगरको नगर सभा बैठकले सो ऐन पारित गरेलगत्तै मंगलबार सबै कर्मचारीको एक तह र स्तर बढुवा भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञावालीले जानकारी दिए ।यसअनुसार करिब एक हजार ८ सय कर्मचारीको एकैपटक बढुवा भएको उनले जानकारी दिए । उनका अनुसार महानगरमा भर्ना भएर लामो समयदेखि काम गरिरहेका कर्मचारीको श्रेणीभन्दा संघबाट आउने भर्खरै भर्ना भएर आउने कर्मचारी माथिल्लो तहमा आएपछि महानगरमा कर्मचारी समायोजनको माग उठेको थियो ।

हाल संघबाट पाँच वर्ष सेवा अवधि पुरा गरेका शाखा अधिकृत महानगरमा आठौं, ५ वर्ष सेवा अवधि नपुगेका उपसचिव नवौं र ५ वर्षभन्दा बढी सेवा अवधि पार गरेका उपसचिव दशौं तहमा कार्यरत छन् । तर, महानगरमा २० वर्षअघि भर्ना भएका कर्मचारीहरु अहिले पनि आठौं तहमा रहेपछि महानगरका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका थिए । ‘महानगरभित्रका कर्मचारीहरुलाई उत्प्रेरित गर्नको लागि नै नगर सभाबाट समायोजन सम्बन्धी कानून पारित भएको हो,’ ज्ञावालीले भने,’ यसपछि महानगरका कर्मचारीको सेवाप्रवाह सुध्रने अपेक्षा गरेका छौं ।’

यसरी समायोजन भएपछि सबै कर्मचारीको तलब भत्ता पनि स्वतः बढेको छ । यसअनुसार महानगरपालिकालाई महिनामा करिब ३० लाख रुपैयाँ थप वित्तीय भार थपिएको छ । कर्मचारी समायोजनले वर्षमा करिब ३ करोड ६० लाख रुपैयाँ अतिरिक्त भार थपिएको छ । यसअघि महानगरमा नेपाल सरकारका सचिव प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था थियो । तर, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य असन्तुष्टिपछि सचिवको सट्टा सहसचविले नै प्रशासकीय अधिृकतको जिम्मेवारी पाउने व्यवस्था गरेको थियो ।

महानगरका कर्मचारीले पनि संघबाट भर्खर भर्ना भएर आएका कर्मचारीभन्दा तल बसेर काम गर्न असहज भएको भन्दै असन्तुष्टि पोख्दै आएका थिए । मेयर शाक्यले कर्मचारीको माग सम्बोधन गर्न समायोजनको योजना बनाएका थिए ।

सम्बन्धित समाचार