आचारसंहिता तयार गर्दै निर्वाचन आयोग



आउँदो वैशाखमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुने या नहुने भन्ने अन्योल कायमै रहेका बेला निर्वाचन आचारसंहिताका व्यवस्थाबारे जिल्ला–जिल्लामा छलफल चल्दैछ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०७२ लाई परिमार्जन गरी निर्वाचन आचारसंहिता–२०७७ तयार गर्न सरोकारवालाको सुझाव संकलन गरिरहेको हो ।
सरकारले २०७८ वैशाख १७ र २७ गते २ चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने घोषणा गरिसकेको छ । त्यही निर्वाचनलाई लक्षित गरी आयोगले आचारसंहिता तयार गर्न लागेको हो । अब बन्ने आचारसंहिताको मस्यौदामा सामाजिक सञ्जालमार्फत् गरिने चुनावी प्रचारप्रसारदेखि भोट माग्न जाने उम्मेदवारले प्रयोग गर्ने सवारी साधनको संख्यालगायतमा विभिन्न व्यवस्था गरिँदैछ । राजनीतिक दल र उम्मेदवारले प्रयोग गर्ने निर्वाचन प्रचारका सामग्रीमा पनि यसअघिभन्दा केही संशोधन गरी आचारसंहिता तयार हुँदैछ ।

चुनाव प्रचारमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय तहका जनप्रतिनिधि संलग्न हुन नहुने, उनीहरूले चुनावी प्रचारका लागि सार्वजनिक तथा निजी यातायातका साधनसमेत प्रयोग गर्न नपाउनेलगायतको व्यवस्था आचारसंहितामा गरिँदैछ । यसअघि उम्मेदवारले चारपांग्रे हलुका सवारी साधन बढीमा ४ वटासम्म प्रयोग गर्नसक्ने व्यवस्था रहेकामा अब २ वटामात्रै प्रयोग गर्न पाउने प्रस्ताव मस्यौदामा छ । यसअघि जारी आचारसंहिताभन्दा केही फरक व्यवस्थासहित नयाँ आचारसंहिता तयार गर्न आयोग जुटेको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए । ‘नेपाल सरकारका मन्त्री, विभिन्न आयोगका पदाधिकारी, राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चार माध्यमलगायत मतदाता र सर्वसाधारणले पालना गर्नुपर्ने आचारसंहिताबारे इलाममा पनि छलफल भएको छ,’ उनले भने, ‘सरोकारवालाका सुझाव संकलन गरी आयोगले आचारसंहितालाई अन्तिम रूप दिनेछ ।’

निर्वाचन मिति घोषणा भएपछि आयोगले निर्वाचन कार्य सञ्चालन तालिका निर्माण गरी कार्यान्वयन गरेको, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन र मतदाता नामावली अद्यावधिक ९दाबी–विरोधसमेत० गरेको उनले जानकारी दिए । आयोगले गत पुस ५ सम्म १८ वर्ष उमेर पूरा भइ मतदाता नामावलीमा नाम उल्लेख भइससकेको व्यक्तिले आउँदो निर्वाचनमा मतदान गर्न पाउने जनाएको छ ।

सम्बन्धित समाचार