संखुवासभा आएर माधव नेपालले भने, ‘केपी ओली कम्युनिस्टका ऐजेरु हुन्’ (भिडियो सहित)



खाँदबारी । प्रधानमन्त्री केपी ओली कम्युनिस्ट पार्टीको एजेरु मात्र रहेको नेकपा अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । संखुवासभामा शनिबार प्रचण्ड–नेपाल समूहले गरेको विरोध सभालाई सम्बोध गदै पूर्वप्रधानमन्त्री नेपालले कम्युनिस्ट पार्टीमा पनि कहिले काँही ऐजेरु पलाउने गरेको बताए । प्रचण्ड–नेपाल समूहले शनिबार खाँदबारीमा गरेको विरोध सभालाई सम्बोधन गर्न हेलिकप्टरबाट संखुवासभा आएका नेपालले प्रधानमन्त्री ओलीले आफ्नै घरमा आगो लगाएको आरोप लगाए ।

ओलीको हालत पूर्वराजा ज्ञानेन्द्र शाहाको जस्तो नेपालको भनाइ छ । ओलीले चालेको असंवैधानिक कदमले जनताका हक अधिकार गुमेको उनले बताए । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली जनताले आन्दोलनको आँधीबेरी सिर्जना गरेर ओलीलाई बालुवाटारबाट चाँडै बालकोट पुर्याउने दाबी नेपालको छ । ओलीले पार्र्टीभित्र तानाशाह लागु गरेपछि उनीसँग अलग भएको बताउँदै नेपालले आफैले सिफारिस गरेको व्यक्तिले देश र जनतालाई धोका दिएको बताए । ‘पार्र्टी बचाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै पटक त्याग गर्नुभयो तर, सकिए’, नेपालले भने, प्रतिगमनकारी कदम सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गर्दै ओलीलाई जनता र कार्यकर्ताले सच्याउने विश्वास नेपालको छ ।

विरोधसभामा बोल्दै स्थायी कमिटी सदस्य वर्षमान पुनले निर्वाचन आयोगले पार्टीको आधिकारिकता हेर्ने बताए । पुनले प्रतिनिधिसभा विघटन मुद्दाको फैसला चाँडै आउने बताए । ‘संसद् विघटनका बारे सर्वोच्च अदालतमा बहस सकिएको छ, केही दिनमा फैसला हुँदैछ’, पुनले भने । उक्त विरोध सभालाई नेकपा केन्द्रीय सदस्य रामकुमारी झाक्री, नेता घनेन्द्र बस्नेत, जिल्ला इन्चार्ज राजेन्द्र राई, केन्द्रीय सदस्य राजेन्द्र कार्की लगायतका नेताहरुले सम्बोधन गरे ।

विरोध सभालाई सम्बधोन गर्न प्रचण्ड आउने कार्यक्रम तय भएको भए पनि नेकपा विवादका कारण दुई अध्यक्षमध्ये एक जनाले राजधानी छाड्न नमिल्ने भन्दै उनी कार्यक्रममा आएनन् । विरोध सभामा नेकपाले जिल्लाभरका कार्याकर्ता सदरमुकाम खाँदबारीमा भेला पारेको थियो ।

 

सम्बन्धित समाचार