संखुवासभामा कोरोना खोप लगाउने सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न



संखुवासभा । जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले (कोभिड–१९) रोग विरुद्ध खोप अभियानको सञ्चारकर्मिसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।  स्वास्थ्य कार्यालय सङ्खुवासभाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खाँदबारीका सञ्चारकर्मिहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा विभिन्न विषयवस्तुमाथी छलफल र अन्तरक्रिया भएको थियो ।

(कोभिड–१९) रोग विरुद्धको खोप अभियानमा प्राविधिक नेतृत्व गर्दै आइरहेको स्वास्थ्य कार्यालय सङ्खुवासभाले खोप अभियान सञ्चालनकोे औचित्य, रणनीति र जिल्लाको तयारीको बारेमा जानकारी गराएको छ । भारतको सेरम इस्टिच्युट कम्पनिले उत्पादन गरेको “कोभिसिल्ड” खोप सङ्खुवासभामा पहिलो चरणमा ७२ प्रतिशतले लगाएको जनाइएको छ । र जिल्लामा दोस्रो चरणको खोप अभियान अन्र्तगत फागुन २६ गतेदेखि २९ गतेसम्म खाँदबारी नगरपालिका, चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, मादी नगरपालिका, पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकामा लगाइने भएको छ । त्यस्तै चिचिला गाउँपालिका, मकालु गाउँपालिका, भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिकामा फागुन २८ गतेदेखि चैत २ गतेसम्म लगाइने जनाइएको छ ।

दोस्रो चरणको खोप ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर लगाइने भएको छ । सङ्खुवासभा जिल्लामा लगभग दश हजार खोप वितरणको योजना रहेको स्वास्थ्य कार्यालय सङ्खुवासभाका प्रमुख रमेश बाह्रकोटिले बताउनुभयो । उहाँले कोरोना भाइरस विरुद्धको खोप सुरक्षित रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गर्नुभयो । कोभिसिल्ड खोपको दुई मात्रा लगाउनुपर्छ । पहिलो डोज लगाइसकेका व्यक्तिले पहिलो डोज लगाएको ८ देखि १२ हप्तामा दोस्रो डोज लगाउनुपर्छ खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, शरीर दुख्ने, थकाई लाग्ने जस्ता सामान्य लक्षण देखिने र यस्ता लक्षण केही समयमा ठीक भएर जाने भन्दै ढुक्क भएर लगाउन उहाँको आग्रह छ ।

सम्बन्धित समाचार