सिलिचोङको हिउँदे अधिवेसन सम्पन्न, सिसुवाखोला पहिरो पिडित बजेटको प्राथमिकतामा



ताम्कु । सिलिचोङ गाउँपालिकाको ८ औं हिउँदे अधिवेसन सम्पन्न भएको छ । चालु आर्थिक बर्षको विभिन्न योजना तथा कार्यक्रमहरुको पुनरावलोकन गर्दै आईतबार अधिवेसन सम्पन्न भएको हो ।

अधिवेसनले गत असारमा वडा नम्बर १ सिसुवाखोलामा गएको पहिरोबाट विस्थापितहरुको पुर्नस्थापना गर्ने चित्रेमा सडक पुर्वाधार पुराउने विषयलाई प्राथमिकतामा राखेको छ । बुधबारेबाट डाँडागाउँ, रमिते हुँदै सडक पुर्वाधार निर्माण गरिने र सोको लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस बाहेक उक्त सडक मर्मत गर्नका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । यहि बर्ष तत्काल काम थाल्ने गरि उक्त बजेट विनियोजन गरिएको हो ।

त्यस बाहेक बुम्लिङ सल्लेरी सडक स्तर उन्नतीलाई पनि अधिवेसनले प्राथमिकतामा राखेको छ । उक्त सडकको स्तर उन्नतीको लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । सडक मार्गबाट गाउँपालिकाको केन्द्र जोड्नका लागि सिसुवाखोलाको बखल्टुम र बुधबारेबाट ताम्कु जोड्ने मोटरेबल पुलको डिपिआरको लागि १५, १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै बुधबारे प्रवेश गर्ने सिसुवाखोलामा मोटरेबल पुल निर्माणको लागि तत्काल ठेक्का लगाउने गरि १० लाख रुपैयाँ बजेट थप गरिएको छ । गत अधिवेसनमा उक्त पुल निर्माणको लागि वडा नम्बर २ बालाले ३५ र गाउँपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अधिवेशनमा विभिन्न शिर्षकमा ६० भन्दा बढी नयाँ योजना तथा कार्यक्रमहरु पारित गरिएको छ ।

सम्बन्धित समाचार