ताप्लेजुङमा दुई जना मृत अवस्थामा भेटिए



 

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेमा दुई जना मृत अवस्थामा भेटिएका छन् ।

नाताले काका ससुरा र बुहारी छुट्टाछुट्टै स्थान तथा समयमा मृत अवस्थामा भेटिएका हुन् । बुधबार दिउँसोदेखि बेपत्ता बनेकी ३६ वर्षीया बिमला बस्नेत बेलुका घाँटीमा प्लाष्टिकको डोरीले बाँधिएको अवस्थामा मृत भेटिएको बताइएको छ ।
विमलाका काका ससुरा पर्ने घनस्याम बस्नेत पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका छन् । विमलालाई बेलुका करिब ९ः०० बजे घर नजिकैको जङ्गलमा घाँटीमा डोरीले बाँधिएको र भुईमा लतारिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

शव फेला परेको खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । विमलाको शव परीक्षणका लागि आज जिल्ला अस्पतालमा ल्याइएको छ । घटनास्थलबाट प्रहरीको टोली फर्किएको केहिबेरमा नै विमलाका काका ससुरा पर्ने घनस्याम पनि घर नजिकैको जङ्गलमा मृतावस्थामा भेटिएको स्थानीयवासी विजय डाँगीले जानकारी दिए ।

सम्बन्धित समाचार