माछा मार्ने क्रममा करेन्ट लाग्दा भोजपुरमा ३४ वर्षीय युवाको ज्यान गयो



भोजपुर । माछा मार्ने क्रममा करेन्ट लाग्दा भोजपुरमा ३४ वर्षीय युवाको ज्यान गएको छ । भोजपुरको पिखुवा खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा ज्यान गएको हो ।

करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइ«ोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय राम बहादुर आले मगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए । प्रमुख चन्दले भने,‘माछा मार्ने क्रममा पिखुवा खोलामा एक जना ढलेको भन्ने हामीलाई जानकारी आएपछि प्रहरी टोलीसहित म आफै घटना स्थलमा पुगे । त्यहाँ पुग्दा तार समातेको अवस्थामा शव फेला प¥यो । नजिकै उनले मारेको माछा र ढडीया समेत फेला परेको छ । घटनाको प्रकृति हेर्दा करेन्ट लागेर ज्यान गएको देखिन्छ ।

पोष्टमार्टम रिपोर्टपछि थप अनुसन्धान हुन्छ ।’ मगर हातमा तार पक्रिरहेको अवस्थामा मृत फेला परेको उनको भनाइ छ । स्थानीयले माछा मार्ने क्रममा मानिस खोलामा ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको औलाको कापमा करेन्टले पोलेको डाम रहेको प्रहरीको भनाइ छ । आवश्यक प्रक्रिया पुरा गरी शबलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुरमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार