खाँदबारी अस्पतालमा आईसियु सेवा सञ्चालन हुँदै, कुनिना शैक्षिक गुठीले मासिक ३ लाख रुपैयाँ दिने



खाँदबारी । पूर्वी पहाडी जिल्लामै पहिलो पटक संखुवासभा जिल्ला अस्पतालमा आइसियू सञ्चालन हुने भएको छ । आइसियू सञ्चालनका लागि आज (विहिबार) एक कार्यक्रम विच जिल्ला अस्पताल र कुनिना शैक्षिक गुठी विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको आइसियू सञ्चालनका लागि कुनिना शैक्षिक गुठीले आर्थिक सहयोग गर्ने भएको हो । जिल्ला अस्पतालमा कुनिना शैक्षिक गुठीका अध्यक्ष तथा पूर्व–सभासद पासाङ शेर्पा र जिल्ला अस्पताल संखुवासभा बीच दुई पक्षीय संम्झौता भएको हो । जिल्ला अस्पताल व्यवस्थापन समितिले जति सक्दो चाँडो आइसियु सञ्चालनका लागि कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट नियुक्ति गर्नका लागि कुनिना शैक्षिक गुठीले मासिक तीन लाख रुपैयाँ अस्पताललाई उपलब्ध गराउने संम्झौता गरिएको छ । आइसियु संचालनका लागि मासिक तलब कुनिना शैक्षिक गुठीले उपलब्ध गराएको रकम अन्यत्र खर्च गर्न नपाइने गरि संम्झौता गरिए हो ।

विशेषज्ञ जनशक्ति ल्याउनका लागि गुठीले सहयोग गरेको गुठीका अध्यक्ष शेर्पाले बताए । उनले भने–‘मुलुकमा दिनानुदिन मानिसहरु कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाईरहेकाले आफुहरुले सक्ने सहयोग गरिएको छ ।’ विश्वभर नयाँ भेरियन्टको भाइरसका कारण दिनानुदिन मानिसहरुको अकालमा मृत्यू भइरहेको भन्दै कसैको अकालमा ज्यान नजाओस भन्ने उद्वेश्यले आफूहरुले आइसियू संचालनका लागि सहयोग गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।

आवश्यक जनशक्तिका लागि गुठीले ६ महिनाका लागि १८ लाख रुपैयाँ उपलब्ध गराउने सहमती भएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए । जिल्ला अस्पताल संखुवासभामा पछिल्लो समयमा धेरै सुधार र प्रगति भईरहेको छ ।

नयाँ–नयाँ उपकरणहरु जडान गरिरहेको जिल्ला अस्पतालमा दाताको सहयोगमा पूर्वी पहाडी क्षेत्रमा नै पहिलो पटक आइसियु संचालन ल्याउन लागिएको अध्यक्ष शाक्यले बताए । २०३३ सालमा निर्माण भएको अस्पताल अहिले ५० वेड सञ्चालनमा रहेको छ । संखुवासभाको १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढि भागका सेवाग्राही जिल्ला अस्पताल संखुवासभा आउने गरेका छन् ।

सम्बन्धित समाचार