राउटे युवती प्रकरणः थप अनुसन्धान गर्न इन्स्पेक्टरको नेतृत्वमा खटियो प्रहरी टोली



सुर्खेत । सुर्खेतमा केही युवाहरूले राउटे समुदायकी दुई युवतीलाई होटलमा लिएर यौनहिंसा गरेको खुलेको छ । सुर्खेतको बोटेचौरस्थित एउटा होटलमा राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको छ ।

सार्वजनिक भएको उक्त भिडिओमा एक जना पुरूष अर्धनग्न अवस्थामा छन् भने राउटे युवती ओछ्यानमा पल्टिएका छन् ती पुरूषले एक जना राउटे युवतीलाई बहिनी र अर्कीलाई श्रीमती भनेर सम्बोधन गर्छन् । श्रीमती भनिएकी युवतीलाई उनले संवेदनशील अंगमा छुने गरेका छन् ।

नसामा रहेकी राउटे युवतीले ुडिस्ट्रब भयो के दाइ जानुु भनेको भिडिओमा सुनिन्छ। ती पुरूषले उल्टै ओछ्यानमा पल्टेर राउटे युवतीमाथि अश्लील हर्कत गरेका छन् ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका ९ बोटे चौरका ३५ वर्षीय चमनसिंह घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका मिलन पुनलाई आइतबार बिहान ३ बजे पक्राउ गरेको छ ।

मिलन पुनले सञ्चालन गर्दै आएको बोटेचौरस्थित शुभकामना होटल तथा रेष्टुरेन्टमा जेठ २१ गते राति ९ बजे उनीहरूले दुई जना राउटे युवतीलाई मदिरा खुवाएर अश्लील भिडिओ बनाएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

‘हामीसँग आएको प्रमाणबाहेक थप अध्ययनका लागि हामीले प्रहरी निरीक्षकको नेतृत्वमा सम्बन्धित ठाउँमै टोली पठाएका छौं, थप प्रमाण पनि आउला,’ उनले भने । फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय पछिल्लो समय सुर्खेत र दैलेखका विभिन्न स्थानमा बस्दै आएका छन् । अहिले उनीहरू गुर्भाकोट नगरपालिका ११ आँपसोतीस्थित भेरी नदीको किनारामा बस्दै आएका छन् ।

उनीहरू बसेको ठाउँदेखि बोटेचौर बजारनजिकै पर्छ ।

सम्बन्धित समाचार