सिलिचोङकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार



खाँदबारी । खाँदबारी अस्पतालमा शल्यकृया गरिएको सिलिचोङ गाउँपालिका ४ मांतेवाका एक सुत्केरी महिलाको उद्धार गरि हेलिकप्टरबाट काठ्माण्डौ लगिएको छ । ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफर भई खाँदबारी आएका २७ बर्षिय मुना विश्वकर्मालाई शुक्रबार विहान काठ्माण्डौ लगिएको हो ।

स्वास्थ्यमा जटिलता आउन सक्ने भएपछि सिलिचोङ गाउँपालिका स्थित ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रले जिल्ला अस्पताल खाँदबारी पठाएको थियो । शल्यकृया गर्ने क्रममा अत्याधिक रक्तश्राव भएपछि बाहिर पठाउनु परेको हो । विश्वकर्माको पाठेघर अत्यन्तै पातलो र कमजोर भएकोले शल्यकृयाको क्रममा जटिलता आएपछि स्त्री रोग विशेषज्ञकहाँ पठाउनु परेको सर्जन डाक्टर भिमबहादुर लामाले जानकारी दिनुभयो । सानो उमेरमा छोटो समय भित्र पटक पटक गर्भवती भएकोले पाठेघरमा समस्या आएको डाक्टर लामाको भनाई छ ।

लगातार रक्तश्राव भएपछि गम्भिर अवस्थाका सुत्केरीलाई शुक्रबार विहानै काठ्माण्डौ पठाईएको हो । सुत्केरीलाई राष्ट्रपति महिला उद्धार कार्यक्रम मार्फत निशुल्क उद्धार गरिएको हो ।

सम्बन्धित समाचार