जहाँ देवताको डरले कोरोनाविरुद्धको खोप लगाउँदैनन्



काठमाडौं । गत मे २२ मा भारतको हिमाचल प्रदेशको विकट गाउँ मलाना पाँच किलोमिटर हिँडेर स्वास्थ्यकर्मीहरूको टोली पुग्यो । उनीहरुले त्यहाँ एक खोप केन्द्र बनाए। यद्यपि, उक्त खोप केन्द्रमा केवल ३६ जना मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाए । जबकि यो गाउँमा २२ सयभन्दा धेरै मानिस बस्छन् । सो संख्यामा मानिसहरूले खोप लगाउनु पनि यो गाउँमा ठूलो सफलता सरह नै थियो ।

मलानाका मानिसहरूले धार्मिक प्रशासन गाउँ परिषद्को कारण खोप लगाउन मानेका थिएनन् । गाउँ परिषद्ले स्थानीय देवता जमदग्नी ऋषि यसमा सहमत नभएको भन्दै कोरोनाविरुद्धको खोप नलगाउन सबैलाई आग्रह गरेको थियो । स्थानीयका अनुसार गाउँ परिषद्लाई देउताबाट खोप लगाउने अनुमति पाउन नै करिब पाँच महिना लाग्यो । गत मे महिनाको मध्यमा भारतमा कोरोनाको दोस्रो लहर फैलिरहेको अवस्थामा देवताबाट यसबारेमा अनुमति मिल्यो ।

देवताको अनुमति पाएपछि पनि यो गाउँका केवल १.८ प्रतिशत मानिसले कोरोनाविरुद्धको खोप लगाए । गाउँलेका अनुसार जमदग्नी ऋषिले उनीहरूलाई एक महिलाको शरीरमा आएर प्रत्यक्षरूपमा खोप केन्द्र स्थापना हुनुभन्दा दुई दिन पहिला खोपको बारेमा बोलेका थिए । देउताले महिलाको माध्यमबाट खोपबाट टाढा रहन निर्देशन दिएका थिए । देउताले आफ्नो दैवी शक्तिको प्रयोग गरेर गाउँलाई कोरोनाबाट बचाउने बताएका थिए ।

मलानामा अन्धविश्वास, गलत सूचना र खोपप्रतिको अनिच्छा असीमित छ । जानकारहरूका अनुसार यस किसिमको अवस्था भारतको धेरै ग्रामीण क्षेत्रमा देख्न सकिन्छ । महाराष्ट्रको पालघरका आदिवासीहरू आफूहरू सधैं घाममा काम गर्ने भएकाले कोरोनाको संक्रमण नहुनेमा विश्वास गर्छन् । भारतको पश्चिमी घाटका पोतराज समुदायका मानिसहरू पनि आफूहरूलाई कडक लक्ष्मीले कोरोना खोप नलिन भनेको बताउँछन् ।

त्यस्तै, राजस्थानको सिरोही जिल्लाको अराभाली श्रृङ्खलामा बसोबास गरिरहेका आदिवासी पनि कोरोनाविरुद्धको खोप लिन इच्छुक छैनन् । भारतको पूर्वी राज्य झारखण्डमा पनि अधिकांश लामो समयदेखि बसोबास गर्दै आएका मानिसहरू खोप लिन अस्वीकार गरिरहेका छन् । त्यसको सट्टामा उनीहरू संक्रमण फैलिन नदिन ‘हवन’ गरिरहेका छन् ।

भारतमा गत जनवरीदेखि कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ । कोरोनाको दोस्रो लहरका कारण समस्यामा रहेको भारतका ग्रामीण क्षेत्रमा अझै पनि संक्रमण फैलिरहेको छ । त्यहाँको स्वास्थ्य पूर्वाधार निकै कमजोर छ । विश्वव्यापी स्वास्थ्यबारे अध्ययन गरिरहेका अनन्त भान अहिले भारतको अवस्था चिन्ताजनक रहेको बताउँछन् । ‘अहिले भारतसँग पर्याप्त खोप छैन । यदि सरकारले खोपको व्यवस्था गरेछ भने पनि यस किसिमका अन्तर नहटाउने हो भने खोप अभियान असफल बन्नेछ । यिनीहरू सबैभन्दा जोखिमपूर्ण समुदायमध्येका एक हुन्’, उनले भने ।

सम्बन्धित समाचार