मानेभञ्ज्याङ आईसोलेसनमा हरेक दिन योगा



खाँदबारी । मकालु गाउँपालिकाका ज्ञान बिक्रम राई एक हप्ता अघि कोराना संक्रमित भएर मानेभञ्ज्याङ आईसोलेसनमा आउँदा चिन्ता र डर दुवै थियो । उहाँ जस्तै डर र संकोचका साथ कोरोना भाईरसबाट मुक्त हुन आईसोलेसन आएकाहरुको दैनिकी अहिले सहज बनेको छ ।

आईसोलेसनमा नै हरेक विहान गराईने योग अभ्यासले कोरोना संक्रमितहरुको दैनिकी सहज बनाएको हो । हरेक विहान दुई घण्टा गराईने योगाले शरिरमा स्फर्ति मात्र नभएर खानामा अरुची, निन्द्रा नलाग्ने जस्ता समस्याहरुको समाधान भएको आईसोलेसनमा बस्दै आउनुभएका ५८ बर्षीय उषा कार्कीले बताउनुभयो । जीवन कालमै पहिलो पटक योगा गर्नुभएको कार्कीले कोरोना संक्रमितहरुको मनोबल बढाउनका लागि योगाको ठुलो भुमिका भएको अनुभव सुनाउनुभयो ।

अस्पतालका डाक्टरले शारिरिक उपचार मात्र गर्ने गरेको तर योगले आत्मा, शरिर र मस्तिस्कको एकै पटक उपचार हुने गरेको आईसोलसनमा रहनुभएका ज्ञान विक्रम राईले बताउनुभयो । यो प्रकारको योग देशभरकै आईसोलेसनमा सञ्चालन गर्न सके संक्रमितहरु चाँडै रोग मुक्त हुनसक्ने समेत राईले दावी गर्नुभयो । आईशोलेसनमा सिकिस्त विरामीहरु समेत योगामा सहभागी भएपछि चाँडै स्वास्थ्यमा सुधार आएको राईले बताउनुभयो ।

खाँदबारी नगरपालिका ३ मानेभञ्ज्याङमा जिल्ला अस्पताल र खाँदबारी नगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरेको आईसोलेसनका संक्रमितहरुका लागि स्थानीय एड्भान्स क्लवले योगा गराउने ब्यवस्था गरेको हो । आईसोलेसन निर्माण तथा ब्यवस्थापनमा सहयोग गर्दै आएको क्लवले संक्रमितहरुको मनोबल बृद्धि गराउने कार्यक्रमको आवश्यकता महशुस गरेपछि विकल्प खोज्ने क्रममा योग अभ्यास सञ्चालन गरिएको क्लवका अध्यक्ष ईश्वर घिमिरेले बताउनुभयो । आईसोलेसन कक्षमा एकोहोरा बस्दा मानसिक समस्या समेत हुन सक्ने देखिएपछि योग अभ्यास सुरु गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

मानेभञ्ज्याङ आईसोलेसनमा ३० देखि ४० जनालाई प्रशिक्षक छितिज बरालले योग अभ्यास गराईरहेका छन् । संक्रमण मुक्त हुनेहरु जाने र नयाँ संक्रमित थपिरहने भएकोले योग गर्नेहरुको संख्या यकिन हुदैन । योग मार्फत स्वासप्रश्वासको अभ्यासलाई प्राथमिकतामा राखिएको प्रशिक्षक बरालले जानकारी दिनुभयो । शरिरमा अक्सिजनको मात्रा बढाउने, मानसिक समस्या हटाउने, शारिरिक ब्यायम लगायतका कृयाकलापहरु गरिदै आएको छ ।

सङ्खुवासभामा हालसम्म एक हजार ४ सय २३ जनाको परिक्षण गर्दा एक हजार ३ सय ७७ जना कोरोना संक्रमित भएका छन् । त्यस मध्ये ८ सय ५६ जना निको भईसकेका छन् । बाँकी आईसोलेसनमा छन् । जिल्लामा कोरोनाबाट ८ जनाको मृत्यु भईसकेको छ ।

सम्बन्धित समाचार