पूर्वमन्त्री केसीको समुहद्वारा महाकुलुङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण



सोलुखुम्बु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बलबहादुर केसी सहितको समुहले महाकुलुङ गाउँपालिकालाई ६ लाख मूल्य बराबरको स्वास्थ्य सामगी हस्तान्तरण गरेका छन् । टोलीले सोमबार गाउँपालिकामा नै कार्यक्रमको आयोजना गरि ४७ प्रकारका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

पुर्वमन्त्री केसीको समुहले महाकुलुङ गाउँपालिकालाई हस्तान्तरण गरेका सामाग्रीहरुमा अक्सिजन कन्सरट्रेटर २ थान, पल्सअक्सिमिटर ६ थान, पिपिई सेट ९३ थान, केएन ९५ मास्क ६५ थान, सर्जिकल मास्क २ सय ५० थान, हेडक्याप ४ सय थान, थर्मल गन, फेस स्लाइडर, सेनिटाईजर तथा विभिन्न प्रकारका ओैषधीहरु रहेका छन् । उक्त सामग्रीहरु ४७ प्रकारको रहेको सामाजिक विकास तथा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पूर्वमन्त्री केसीले स्वास्थ्य संकटको निरुपण गर्न सबैपक्ष एकजुट हुनुपर्ने बताउनुभयो । आँफू पनि जनताको जीवन रक्षाको लागि माध्यम मात्रै बनेको बताएका छन । त्यस्तै, नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सचिव भलाकाजी कुलुङले संकटमा आआफ्नो तर्फबाट सकेको सहयोग कन्जुस्याइँ नगरी सबै लाग्नुपर्ने बताउनुभयो । कुलुङको पहलमा यसभन्दा अगाडी पनि स्वास्थ्य सामाग्री सहयोग गरिसकेका छन ।

स्वास्थ सामाग्री बुझ्दै महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किँरातीले संकटको घडीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा सम्पुर्ण दाता लगायत सम्बन्धित पक्षलाई धन्यवाद दिनुभयो । संकट निवारणमा पुर्वमन्त्री केसीको समन्वयको पक्षलाई सबै पक्षले अनुशरण गनुपर्ने समेत अध्यक्ष किराँतीले बताउनुभयो । प्राप्त सामग्रीहरु महाकुलुङ गाउँपालिका भित्रका अत्यावश्यक क्षेत्रमा वितरण गरिने अध्यक्ष किराँतीले जानकारी गराउनुभयो ।

हस्तान्तरण कार्यक्रममा पुर्वमन्त्री बलबहादुर केसी सहित नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुहरि बास्तोला, नेका सोलुखुम्बु जिल्ला कार्यसमिति सचिव भलाकाजि कुलुङ, जिल्ला सदस्य युवराज घिमिरे र नेविसंघ सोलुखुम्बुका उपाध्यक्ष जीवन बस्नेत लगायतको उपस्थिती रहेको थियो । त्यस्तै, गाउँपालिका तर्फ महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, उपाध्यक्ष विपना कुलुङ, वडा नं ५ का अध्यक्ष सञ्चराम कुलुङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रजन बराल, सामाजिक विकास तथा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्य लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार