प्रदेशको १ नीति तथा कार्यक्रम सार्वजनिक



विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई प्राथमिकतामा राखिएको छ । मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ । योजनामा विदेशबाट आएकाहरूको सीपको प्रयोग गर्दै स्वदेशमै उद्यमशील बनाउने लक्ष्य राखिएको छ ।

ग्रामीण भेगमा रहेर सामाजिक रूपमा योगदान पुर्‍याएका आमाहरूको सम्मानका लागि राष्ट्रपति आमा सम्मान कार्यक्रम सञ्चलन गरिने भएको छ । सासुबहारी सम्मान, ज्येष्ठ नागरिक तीर्थाटन, स्वास्थ्य उपचार र दन्त उपचार कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ ।

सरकारले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । मेची अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय तथा अन्य जिल्ला अस्पताललाई न्यूनतम ५० शैय्यामा स्तरोन्नति गर्ने नीति लिएको छ । विपन्न वर्गको उपचारका लागी प्रदेशमा उपचार कोष स्थापना गरिनेछ ।

कोभिड–१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रण पश्चात् प्रादेशिक प्रसूति तथा स्त्री रोग अस्पतालका रूपमा रूपान्तरण गरिनेछ ।

माध्यमिक विद्यालयमा तालिम प्राप्त शिक्षक शिक्षिकाद्वारा किशोर किशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्न स्थानीय तहहरूसँग समन्वय गर्ने सरकारको नीति छ । मोरङको पथरीमा महासंग्राहलय निर्माण गर्ने नीति लिएको छ ।

मेरो कृषि मेरो पौरख अभियान सञ्चालन गरिने छ । बाझो नराख्ने नीति अनुसार सबै जमिनमा कृषि गर्नका लागि प्रोत्साहन गरिने छ । भूमि बैङ्कको अवधारण कार्यान्वयन गरिने छ । अर्ग्यानिक कृषि अभियानमा जोड दिन आमा समूहलाई परिचालन गर्ने प्रदेशले नीति लिएको छ ।

स्थानीय तहसँगको सहभागितामा सिचाई पूर्वाधार र सित भण्डारण सञ्चालन गर्ने लक्ष्य लिएको छ । बिउ तथा बेर्ना आपूर्तिका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । प्राङ्गारिक खेतीका लागि संस्थागत विकास गर्ने नीति लिएको छ ।

सम्बन्धित समाचार