लमजुङको दोर्दी खोलाले १५ घर बगायो



पोखरा । लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ ।

बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध भएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए । ‘हाइटेन्सन पोल ढालेको छ । अरु पोल कति ढले(ढले नकुरा गरम्,’ उनले भने, ‘हाम्रो वडा लथालिङ्ग भयो । पानी परेको पर्‍यै छ । रमिता हेर्नुबाहेक उपाय छैन ।’

बाढीका कारण स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायत सबै बगाएको वडाध्यक्ष घलेले बताए । ‘अरु ३, ४ वटा घर पनि पक्की घरका पनि पिलर निकाल्न सुरु गरिसकेको छ । क्षति त कति पुग्यो, पुग्यो,’ उनले भने ।

बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएकाले आवतजावत नै बन्द भएको उनले जानकारी दिए । हाइटेन्सन लाइन ढलेर पुलमा क्षति पुर्‍याएको उनले बताए । ‘बजार खोलाभन्दा धेरै माथि थियो, कसरी बढ्यो थाहै भएन,’ उनले भने ।

बाढी पीडितलाई बजार माथिको स्कुल तथा आफन्तको घरमा स्थानान्तरण गरिएको वडाध्यक्ष घलेले जानकारी दिए । उनले भने, ‘पुल पनि धरापमा छ । सबै मान्छेहरु एउटै ठाउँमा कोचाकोच भएर बस्नु भाछ । बिजोग भयो हामी ।’

राहत तथा उद्दारका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको तर, गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएकाले कठिनाइ भएको वडाध्यक्ष घलेले बताए । ‘सबै बाटो पहिरोले खायो। हामी त सम्पर्कविहीन हुने अवस्था आइसक्यो,’ उनले भने, ‘सदरमुकामबाट बाटो आउन सक्ने स्थिति छैन । गाडीहरु पनि आउन सक्दैनन् ।’

सम्बन्धित समाचार