भोटखोला क्षेत्रमा २० दिनदेखि टेलिफोन सेवा अवरुद्ध



खाँदबारी । संखुवासभाको उत्तरी क्षेत्रको चीनको सीमावर्ती भोटखोला गाउँपालिकामा २० दिनदेखि टेलिफोन सेवा अवरुद्व भएको छ । जिल्लाको नै दुर्गम र विकट गाउँपालिका भनेर चिनिने भोटखोला गाउँपालिकामा गत १५ जेठदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।

टेलिफोन सेवा अवरुद्ध भएपछि भोटखोलामा कोहीसँग पनि सम्पर्क गर्न नसकेको खाँदबारीमा रहेका स्थानीय मिथुन भोटेले बताए । सरोकारवाला निकायले चासो दिएर चाँडोभन्दा चाँडो सेवा सुचारु गर्नुपर्ने उनको भनाइ छ । भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ को सिमानास्थित माक्पालुङ डाँडामा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले बताए ।

उनले मकालु गाउँपालिकाको भाटभोटेनी डाँडामा रहेको टावरबाट माक्पालुङ लिंक दिँदा क्याप्चर गर्न नसकेको बताए । ‘उच्च हिमाली क्षेत्रमा हावाहुरी र चट्याङले गर्दा लिंक रिसिभर बिग्रिएको अनुमान गरिएको छ । प्राविधिक टोली आएपछि तत्कालै सुचारु हुन्छ ।’ राईले भने ।

धनकुटामा रहेको क्षेत्रीय कार्यालयले धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुममा हेर्छ । माक्पालुङ डाँडाको टावरमा समस्या आउँदा भोटखोला गाउँपालिकाको हटिया, सिब्रङ, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

जिल्लामा हालसम्म जिएसएम र सिडिएमए गरी २५ वटा बिटियस टावर सञ्चालनमा रहेको छ । विद्युत् सेवा नपुगेका ठाउँमा सोलार पावरको भरमा बिटियस टावर सञ्चालन हुने गरेको छ ।

हालसम्म मकालु गाउँपालिकाको भाटभोटेनी, सिलिचोङ गाउँपालिकाको बाला, भोटखोला गाउँपालिकाको माक्पालुङ डाँडा र किमाथांकामा रहेका चारवटा बिटियस टावर सिडिएमए फोनको हो । निर्माणाधीन अवस्थामा रहेको लिङलिङ, बर्खेडाँडा, जलजला र सेदुवाका गरी चारवटा बिटियस टावर सञ्चालन हुन बाँकी रहेको छ । जिल्लामा एक हजार एक सयवटा ल्यान्डलाइन टेलिफोन सञ्चालनमा रहेको छ ।

सम्बन्धित समाचार