चिचिलामा ४४ जनाले लिए ढाका बुनाई तालिम



खाँदबारी । यस बर्ष चिचिला गाउँपालिकाका ४४ जना महिलाहरुले ढाका बुनाई तालिम लिएका छन् । गाउँपालिका स्तर र गरिवी न्युनिकरणका लागि लघु उद्यम कार्यक्रम अन्र्तगत उक्त संख्यामा ढाका बनाई तालिम लिएका हुन् ।

पालिकाबाट विनियोजित बजेटबाट १० जनाले तालिम लिएका छन् । गाउँपालिकाको केन्द्र चिचिला बजारमा दिईएको तालिममा प्रत्येक वडाबाट २, २ जनालाई सहभागी गराईएको छ । लघु उद्यम कार्यक्रम अन्तर्गत वडा नम्बर २ मा १७ र वडा नम्बर ४ मा १७ जनालाई तालिम दिईएको हो । तालिममा सहभागीहरुलाई २ महिनासम्म तालिम दिईएको कार्यक्रमका फोकल पर्सन शान्ता लुम्बाले जानकारी दिनुभयो । तालिम गाउँपालिकाकै प्रशिक्षकहरु लक्ष्मी राई र डामो शेर्पाले दिएका छन् ।

वडा नम्बर २ ईम्चोङमा तालिम समापन कार्यक्रम पछिको तस्बिर ।

तालिम लिएकाहरुले अव घरमै बसेर ढाका उत्पादन गर्न सक्ने छन् । उत्पादन भएको ढाकाको बजार ब्यवस्थापन गाउँपालिकाले गरिदिने गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो । ढाकाको बजाजर अत्यन्तै राम्रो रहेकोले ठुलो परिमाणमा उत्पादन गर्न समेत अध्यक्ष शेर्पाले अनुरोध गर्नुभयो । तालिममा सहभागी भएकाहरुले निशुल्क सिप सिक्न पाएकोमा धन्यवाद ज्ञापन गरेका छन् । सिकेको सिप सदुपयोग गर्न घरमै ढाका बुन्ने तान बनाउनु परेकोले उक्त तान जुटाउने काममा समेत गाउँपालिकाले सहयोग गर्ने अपेक्षा राखेका छन् । तान तयार गर्न करिव १५ हजार रुपैयाँ खर्च लाग्ने प्रशिक्षक लक्ष्मी राईले बताउनुभयो ।

बिहिबार वडा नम्बर २ को ढाका बुनाई तालिमको समापन कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष शेर्पाले आगामी आर्थिक बर्षमा लघु उद्यम गर्न चाहने आमा दिदिबहिनीहरुलाई केहि कार्यक्रमबाट सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो । प्रशिक्षार्थीहरुको उत्साहजनक सहभागीताले आफु पनि उत्साहित भएको बताउनुहुँदै साझेदारीमा हुने गरि सौलियतका कार्यक्रम ल्याईने अध्यक्ष शेर्पाको भनाई थियो ।

सम्बन्धित समाचार