अरुण नदिको पाँच आयोजनाबाट तीन हजार मेगावाट भन्दा बढी विद्युत



संखुवासभा । विद्युतको लागि उर्बर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदिबाट मात्र तीन हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने भएको छ । अरुण नदिबाट मात्रै ठुला ५ वटा विद्युत आयोजना निर्माण हुने र त्यसबाट ३ हजार २ सय ५३ मेगावाटको विद्युत उत्पादन हुने देखिएको हो ।

पाँच वटा ठुला आयोजनामध्ये अहिले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको भौतिक निर्माणको कार्य तिब्र रुपमा भइरहेको छ । मकालु गाउँपालिकाको नुम र हेदाङ्गनाबीच बाँध निर्माण र चिचिला गाउँपालिकाको दिदिङ र मकालुकै याफु गाउँबीच पावर हाउस रहेको यो परियोजना प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्डमार्फत भारतीय कम्पनी सतलज जलविद्युत निगमलाई जिम्मा दिइएको छ ।

खाँदबारी नगरपालिकाको हेलुवाबेशी, चेवाबेशी र चन्दनपुर क्षेत्र भित्र निर्माण हुने लोअर अरुण विद्युत परियोजना ४ सय ७० मेगावाट पनि यही भारतीय कम्पनी सतलज जलविद्युत निगमलाई नेपाल सरकारले केही महिना पहिले लगानी बोर्डमार्फत नै जिम्मा दिने निर्णय गरिसकेको भए पनि परियोजना सञ्चालन गर्न बोर्ड र प्रबद्र्धक विद्युत विकास कम्पनीबीच औपचारिक सम्झौता हुन बाँकी छ ।

विद्युत विकास विभागले आयोजना पहिचान र सर्भेक्षण गरीसकेका आयोजनाहरुमध्ये अप्पर अरुण एक हजार ६१ मेगावाट र किमाथाङ्का अरुण ४ सय ५० मेगावाट नेपाल विद्युत प्राधिकरण मातहत दुईवटा कम्पनीलाई सर्भेक्षण इजाजत जारी भएको छ ।

भोटखोला गाउँपालिकाको चेपुवा, रुकमा र नामुछि गाउँमा निर्माण हुने अर्ध जलाशययुक्त एक हजार ६१ मेगावाटको आयोजना निर्माण कार्य नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीले गर्नेछ भने नेपाल सरकारले पनि आयोजना कार्यान्वयनका लागि आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ७ अर्ब ४० करोड रुपैया बजेट विनियोजन गरेको छ ।

यसैगरी नेपाल र मित्रराष्ट्र चीनको सिमाना नजिक रहेको भोटखोला गाउँपालिकाको छुमसुर, रिदाक क्षेत्रमा पहिचान गरिएको ४ सय ५० मेगावाटको किमाथाङ्का अरुण विद्युत आयोजना प्रबद्र्धनका लागि नेपाल विद्युत प्राधिकरणले विद्युत उत्पादन कम्पनी लिमिटेड नामक कम्पनी खडा गरिसकेको छ । त्यस्तै, ३ सय ७२ मेगावाटको अरुण ४ भोटखोला गाउँपालिकाकै स्याक्सिला, तुङ्खालिङ, मकालु गाउँपालिकाको पावाखोला र सिम्मा क्षेत्रमा निर्माण हुनेछन् । यो आयोजना अहिले पनि विद्युत विकास विभागको ‘बास्केट’मा सुरक्षित छ ।

सरकारको तर्फबाट अध्ययन तथा पहिचान भएका आयोजनाहरुको प्रबद्र्धक कम्पनीले पुनः अध्ययन तथा रिडिजाइन गर्ने भएकाले यस्ता आयोजनाहरुको उत्पादन क्षमतामा थोरै थपघट हुनसक्ने विद्युत उत्पादनका विषयमा चासो राख्ने खाँदबारी ८ का जीवनाथ खनालको भनाई छ । यद्यपी, अरुण नदिको पाँच विद्युत आयोजनाबाट मात्र ३ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने देखिएको छ ।

सम्बन्धित समाचार