गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची



एजेन्सी । भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै बग्दै आइरहेको थियो ।

सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको आवाज सुने । उनीहरूलाई अचम्म लाग्यो तर कसैले गंगाबाट बाकस बाहिर निकाल्ने आँट गरेनन् । बाकसभित्र बच्चा रोइरहेको सुनेपछि स्थानीय गुल्लु मल्लाह भने गंगामा पसे र बाकस किनारमा ल्याए ।

बाकस खोलेर हेर्दा त्यहाँभित्र रातो कपडामा बेरिएकी एउटा बच्ची थिइन् । उनको शरिरमा कुनै चोट पटक थिएन बरू बाकसमा हिन्दु देवी दुर्गाको तस्बिर पनि टाँसिएको थियो ।
बाकसको छेउमा ती बच्चीको नाम र जन्म मिति उल्लेख भएको कागज थियो। जसमा उनको नाम ‘गंगा’ लेखिएको थियो भने जन्म मिति २५ मे २०२१ उल्लेख गरिएको थियो।

‘मैले गंगामातालाई कन्यादान गरेको छु,’ पनि लेखिएको कागजमा ॐ र जय माँ दुर्गाु पनि लेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बच्चीलाई गुल्लुले आफ्नी छोरीजस्तै पाल्छु भनेर घर ल्याए । घरमा उनकी बुहारीले दूध खुवाएपछि बच्ची शान्त भइन् ।

त्यतिञ्जेलसम्म प्रहरीले पनि यो कुरा थाहा पाइसकेको थियो । प्रहरीले गुल्लुको घरबाट ती बच्चीलाई ल्याएर अस्पतालमा भर्ना गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको सबै लालनपालन राज्य सरकारले गर्ने बताएका छन् । उनले बच्चीको उद्धार गर्ने गुल्लुले मानवीयताको अनुपम नमूना देखाएकाले सरकारी सुविधा दिने घोषणा गरेका छन् ।

ती बच्चीलाई कसले, किन त्यसरी गंगामा बगायो भन्ने खुलिसकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार