प्रभावकारी बन्दै ‘बाल हेल्पलाईन १०९८’



खाँदबारी । बालबालिकाहरुको उद्धार तथा उजुरीको लागि प्रयोग गरिदै आएको हटलाईन नम्बर १०९८ प्रभावकारी बन्दै गएको बताईएको छ । मंगलबार माट्स नेपाल संखुवासभाको आयोजनामा सम्पन्न भएको बाल हेल्पलाईन १०९८ को बार्षिक समिक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

विभिन्न शोषणमा परेका तथा विपदमा परेका बालबालिकाहरुको उद्धारका लागि पुर्वी पहाडी जिल्लाहरुलाई समेट्ने गरि संखुवासभा स्थित माट्स नेपालले उक्त नम्बर सञ्चालन गर्दै आएको छ । गत चैत्र ४ गतेबाट सञ्चालन सुरु गरिएपछि हेल्पलाईन मार्फत २१ वटा उजुरी आएको राष्ट्रिय बाल परिषद प्रदेश समन्वय अधिकृत सुजन अधिकारीले जानकारी दिए ।

त्यस्तै, ४२ वटा मुद्धाहरु फलोअप गरिएको अधिकारीले बताए । फोन मार्फत जस्ले पनि र जहाँबाट पनि सम्पर्क गर्न सकिने भएकोले बाल हेल्पलाईन प्रभावकारी बन्दै गएको उनले बताए । बाल हेल्पलाईनको सुविधाको बारेमा धेरैलाई थाहा नभएको बताउदै यो सुविधाको बारेमा आम समुदायलाई जानकारी गराउनु पर्ने उनको भनाई छ ।

कार्यक्रममा गैह्र सरकारी संस्थाहरु, बाल क्लव, बाल अधिकारकर्मीहरु, प्रहरी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार