अत्याधुनिक हतियारसहित मोरङबाट पाँच जना पक्राउ


१३ श्रावण २०७८, बुधबार


                                                         हतियारधारी समूहले लुटपाटको प्रयास गरेको सुनचाँदी पसल।

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० विराट चोकस्थित त्रिवेणी टोलको सुनचाँदी पसलमा दिनदहाडै लुटपाटको प्रयास गर्ने समूहलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ। अत्याधुनिक एवं स्वचालित हतियार एसएमजी ९मेसिनगन०, एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोलसहित पाँच जनालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउण्डजति गोली पनि बरामद भएको छ।

मास्क लगाएर आएको हतियारधारी समूहले खगेन्द्र थापाले घरमै सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा गत साउन १ गते दिउँसो लुटपाटको असफल प्रयास गरेको थियो। पक्राउ परेको समूह त्यही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ। लुटपाटको प्रयास सफल हुन नसकेपछि स्थानीय बासिन्दालाई हतियार देखाएर आतंकित एवं त्रसित बनाउँदै उक्त समूह उत्तर–पश्चिमतर्फ लागेको थियो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले पिछा गरेको भएपनि त्यतिबेला लुटपाट प्रयास गर्ने हतियारधारी समूह भाग्न सफल भएको थियो। उक्त समूहको खोजीका लागि प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बिसीले मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा इन्सपेक्टर खनालसहितको विशेष टोली परिचालन गरेका थिए।
घटना भएको १२ औँ दिनपछि उक्त गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो। त्यतिबेला गरिएको लुटपाट प्रयास घटनाको दृष्य थापाले पसलमा राखेको सिसी क्यामेरा फुटेजमा पनि कैद भएको थियो। सिसी क्यामेरा फुटेजसहित घटनाको अनुसन्धान थालेको प्रहरी अन्नतः हतियारधारी गिरोहसम्म पुग्न सफल भएको हो।

पक्राउ परेकाको साथबाट बरामद भएको एसएमजी सुरक्षाकर्मीको विशेष टोलीसँग मात्रै हुन्छ। त्यो समूहले अत्याधुनिक हतियार कहाँबाट ल्याएको होभन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

घटना भएका बेला पसल सञ्चालक थापा, उनकी श्रीमती टीकादेवी र ६ वर्षका नाति पसलभित्र थिए। टीकदेवी बाहिर निस्किएर होहल्ला गर्न थालेपछि स्थानीयको जमघट बढेसँगै पसलभित्रबाट निस्किएर लुटेरा समूह फरार बनेको हो। घटनामा अरु पनि संलग्न भएको हुनसक्ने आशंका प्रहरीको छ।

सम्बन्धित समाचार