विराटनगरः मेयरले कार्यकर्तालाई घरमै लगेर खोप लगाएको भन्दै प्रदर्शन



विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध विरोध प्रदर्शन भएको छ । महानगरपालिका अगाडी स्थानीयवासीले प्रदर्शन गरेका हुन ।

बुधवार राति विराटनगरको मुनाल पथमा विराटनगर–५ का बुथ सभापति विमल राजभण्डारीको घरमा कार्यकर्ताका लागि मात्र भेरोसेल खोप दिइरहेको थाहा पाएपछि स्थानीयवासीले प्रमुख पराजुलीलाई त्यहाँबाट लखेटेका थिए ।

राजभण्डारीको घरमा भिडभाड देखिएपछि स्थानीयले के भएको भनेर चासो राख्ने क्रममा कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाइँदै गरेको खुलेको थियो । होहल्ला र विरोध हुन थालेपछि प्रमुख पराजुली भन्सार ऐजेन्ट तथा काँग्रेस नगर उपसभापति रहेका प्रवीण जोशीको गाडीमा चढेर भागेको प्रत्यक्षदर्शी प्रवीण भारद्धज निरौलाले बताए ।

प्रमुख पराजुलीले आफ्ना समर्थकलाई मात्र खोप उपलब्ध गराएको भन्दै स्थानीय युवाले आज विराटनगर महानगरपालिका अगाडी प्रदर्शन गरेका हुन ।

प्रदर्शनकारीले सबैलाई खोप उपलब्ध गराइयोस् भन्दै प्लेकार्ड सहित विरोध प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले प्रमुख पराजुलीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

काँग्रेसका स्थानीय नेता दीपक चापागाईँले कसैको घरमा गएर खोप लगाइनु दुःखद भएको र यो घटनाले काङ्ग्रेसकै बदनाम गरेको टिप्पणी गरेका छन् ।

उनले खोप केन्द्रमा थामिनसक्नु भिड भएको र मानिसहरूले अत्यन्तै कष्टकर रूपमा खोप लगाउनु परेको बेलामा प्रमुख पराजुली नै संलग्न रहेर कसैको घरमा लगेर खोप लगाइनु दुखद भएको बताए । महानगर प्रमुख पराजुलीले बाहिर हल्ला भएजस्तो नभएको दाबी गरे ।

सम्बन्धित समाचार