अनिवार्य क्वारेन्टाईन र अनअराइभल भिषा बन्दले बुकिङमा समस्या



काठमाडौं । कोभिड महामारी पहिले नेपालमा यो मौसम पर्यटकको अफ सिजन हो । यो मौसममा यहाँका ट्राभल तथा ट्रेकिङ एजेन्सीहरु अगामी पर्यटकीय सिजन अक्टोवर, नोभेम्बर र डिसेम्बर का लागि बुकिङमा व्यस्त हुन्थे । तर केहीले अहिले नेपाल भ्रमणबारे चासो देखाए पनि अनअराइभल भिसा बन्द हुनु र क्वारेन्टाइन बस्नु पर्ने प्रावधानले समस्या भएको छ ।

नेपाल भित्रिने पर्यटकका लागि अनअराइभल भिषाको व्यवस्था हटाउनु, क्वारेन्टाइनका लागि होटल बुकिङ अनिवार्य हुनु पर्ने जस्ता प्रावधानका कारण प्रिबुकिङ रद्द गर्ने गरेको व्यवसायीहरुले जनाएको छ ।नेपालमा पदयात्राका लागि आउने इच्छा जाहेर गर्दै बुकिङ गरेका पर्यटक मध्ये ९० प्रतिशतले क्वारेन्टाइन बस्नु पर्ने भन्दै बुकिङ रद्ध गरेको थामसेर्कु ट्रेकका निर्देशक यलम्बर राईले बताउनुभयो ।

पर्वतारोहणमा आउनेहरु लामो समयका लागि आउने तर पदयात्राका लागि भने छोटो समयका लागि मात्र आउने भएकाले क्वारेन्टाइन बस्दै उनीहरुको समय जाने भएकाले बुकिङ रद्ध गर्ने गरेको राईले बताउनुभयो । यता पिसिआर जाँच रिपोर्ट र कोभिड विरुद्दको पुर्णखोप लगाएकाले क्वारेन्टीन बस्नु नपर्ने अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले बताउनुभयो । तर विदेशी पर्यटकलाई सरकारले अनराइवल भिषा दिने व्यवस्था बन्द गरेकाले नेपाल आउने विदेशी पर्यटकमा समस्या हुने गरेको उहाँले स्वीकार गर्नुभयो ।

नेपाल आउने पर्यटकले हालसम्म सम्बन्धित देशमा रहेको दुतावासबाट भिषा लगाएर मात्र नेपाल प्रवेश गर्ने गर्दे आएका छन् तर अनअराइवल भिषाको व्यवस्था नहुदाँ पर्यटकले बुकिङ गर्न नसकेको व्यवसायीहरुको भनाई छ ।एउटा पर्यटक नेपाल भित्रिदाँ पदयात्राको विवरण, जहाजको टिकट, क्वारेन्टाईनका लागि होटल बुकिङको विवरण, स्वास्थ्यको अवस्था, पूर्वखोप लगाएको प्रमाण, पिसिआर जाँच रिपोर्ट, गाइड, कम्पनी निश्चित भएपछि मात्र नेपाल प्रवेश दिने गरेको छ ।

यि आधारहरु पूरा गर्न पर्यटकलाई समस्या हुने गरेपछि बुकिङ रद्ध गर्ने गरेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले बताउनुभयो । यस अघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसी ले सात दिन अनिवार्य क्वारेन्टाईन बस्नु पर्ने निर्णय गरेपछि अध्यागमन विभागले १० दिनको क्वारेन्टाईन बस्ने गरी होटलको बुकिङ नदिएसम्म भिषा उपलब्ध नगराउने गरेको र पर्यटकले समेत आधिकारीक निर्णय गरेको प्रमाण नपाउँदा नेपाल आउन आनाकानी गर्ने गरेको सुवेदीले बताउनुभयो ।

राज्यले पर्यटन क्षेत्रको सुधार गर्न ट्रेकिङ कम्पनीहरुलाई राजश्व छुट, भिषा शुल्कमा छुट, पर्यटनकीय हव मानिएको क्षेत्रका बासिन्दामा खोपको व्यवस्था र सकेसम्म चाँडै सबै नेपालीलाई खोप लगाएर विदेशीको रेडजोनबाट हटाउनु पहिलो कदम भएको सुवेदीले सुझाव दिनुभयो । हाल फ्रान्स,दुवइ, चीन, अमेरिका लगायतका विकसित मुलुकहरुले नेपाललाई रेड जोन सूचिमा राखेर आफ्ना नागरिकलाई जान निषेध गर्दै आएको छ ।

५० जना बढी विदेशी पर्यटकहरु बाराम्बार सम्पर्कमा रहेको तर कडा व्यवस्थाले गर्दा आउदै गरेको हिउँद अटम सिजनमा नेपाल आउन बुकिङ रद्ध गरेर नयाँ व्यवस्था हुने आशा गर्दै पर्ख र हेर को अवस्थामा बसेको ट्रेकिङ क्याम्प नेपालका प्रमुख वाङछु शेर्पाले बताउनुभयो । ३० दिन नेपालको पदयात्रा गर्ने पर्यटकले सात दिन क्वारेन्टाइन बस्नु पर्ने हुदाँ उनीहरु आउन आनाकानी गरेको उहाँको भनाई छ ।

पूर्ण खोप लगाएका र विमानस्थलमै पिसिआर जाँच गरी अनअराइवल भिषा दिएर प्रवेशमा सहज गराए बुकिङमा बृद्धि हुने समेत व्यवसायीहरुको भनाई छ । अक्टोवर, नोभेम्बर र डिसेम्बर मुख्य सिजन मानिन्छ । सरकारको अनुगमन नहुदाँ पर्यटकहरु क्वारेन्टाईन बस्ने र नबस्ने यकिन नहुने गरेको व्यवसायीको भनाइ छ । पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले भने संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्रालयले मापदण्ड तोकेको आधारमा मात्र प्रवेश दिने गरेको बताउनुभयो ।

 

सम्बन्धित समाचार