किनारा लाग्यो खाँदबारी अस्पतालको आईसियु काण्ड, कस्तो आयो फैसला ?



खाँदबारी । जिल्ला अस्प्ताल खाँदबारीको आईसियु उपकरण खरिदमा अनियमितता भएको उजुरीको सुनुवाई भएको छ । सार्वजनिक खरिद पुनरावलोकन समितिले उक्त उजुरीको फैसला गरेको हो ।

अध्यक्ष भिम कुमार ओझा नेतृत्वको समितिले सामग्री खरिद प्रकृयामा कुनै त्रुटी नरहेको निश्कर्ष निकाल्दै निर्णय सुनाएको हो । उपकरण खरिदका लागि सवै भन्दा थोरै रकम कबोल गर्ने द मेडिकल सोलुसनको प्राविधिक प्रस्ताव कमजोर रहेको निर्णयमा उल्लेख गरिएको छ । प्रस्तावकको ‘बोलपत्रमा प्राविधिक प्रस्ताव नै सारभुत रुपमा प्रभावग्राहि पुष्टि हुन नसकेकोले सार्वजनिक निकाय (खाँदबारी अस्पताल) ले खरिद गरेको प्रकृया त्रुटिपुर्ण नरहेको’ निर्णयमा भनिएको छ । उक्त निर्णयसँगै अनियमितताको आरोप लगाउदै पुनरावलोकन समितिमा उजुरी दिने द मेडिकल सोलुसनको धरौति रकम जफत गरि नेपाल सरकारको राजश्व खातामा जम्मा गर्न निर्देशन समेत दिएको छ ।

आईसियु सामग्री खरिद सम्बन्धी गरिएको बोलपत्र आव्हानमा ५ कम्पनीहरुले बोलपत्र पेश गरेका थिए । जसमध्ये आर्थिक प्रस्तावमा बढी रकम पेश गर्ने र्यापिड ट्रेडर्सलाई अस्पतालले छनौट गरेको थियो । उक्त ट्रेडर्सको प्रस्ताव रकम बढी भएपनि सवैभन्दा गुणस्तरिय सामग्री उपलब्ध गराउने कबोल गरेको बायोमेट्रिक विशेषज्ञहरुको सिफारिस अनुसार र्यापिडलाई छनौट गरिएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी गराएको थियो । उक्त निर्णयपछि सवैभन्दा न्युन रकम कबोल गर्ने द मेडिकल सोलुसनले उजुरी दर्ता गराएको थियो । उक्त उजुरी पछि सार्वजनिक खरिद अवलोकन समितिले अनुसन्धान सुरु गरेको थियो ।

सार्वजनिक खरिद अवलोकन समितिको उक्त निर्णयसँगै आईसियु खरिद प्रकृया अघि बढेको अस्पतालले जनाएको छ । अब जति सक्दो चाँडो आईसियु उपकरण जडान गरि सेवा सञ्चालन गरिने अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले जानकारी दिए । आईसियु सञ्चालनका लागि कुनिना गुठीले मासिक ३ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता गरिसकिएको छ ।

 

सम्बन्धित समाचार