संखुवासभा: दश स्थानीय तह मध्ये सिलिचोङमा सवैभन्दा कम बेरुजु



खाँदबारी । आर्थिक बर्ष २०७७।७८ मा जिल्लामै सवैभन्दा कम सिलिचोङ गाउँपालिकाको बेरुजु देखिएको छ । महालेखा परिक्षकको प्रतिवेदन अनुसार सिलिचोङको बेरुजु १० लाख २ हजार रुपैयाँ रहेको छ ।

उक्त रकम जम्मा बजेटको शुन्य दशमलब १७ प्रतिशत हो । अन्य स्थानीय तहहरुको करोड भन्दा माथी बेरुजु आउदा सिलिचोङमा यस बर्ष सवैभन्दा कम बेरुजु आएको हो । उक्त बेरुजुहरु मध्ये पनि अधिकांश सैद्धान्तिक बेरुजु (प्रकृया पुरा नगरी काम गरेको) रहेकोले सम्पुर्ण प्रकृया पुरा गरेपछि बेरुजु फस्र्योट हुने प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले जानकारी दिए । स्थानीय सरकार सञ्चालनको सुरुवातीमा कार्यक्रम तथा योजना सञ्चालनको प्रकृयाहरु थाहा नहुदा अधिक बेरुजु आएको बताउदै पछिल्लो समय उक्त समस्या सुधारिएर गएको अधिकृत पौडेलले बताए । पछिल्लो समय पुराना बेरुजुहरु असुल उपर गर्दै सैद्धान्तिक बेरुजुहरु फस्र्योट गरिदै लगिएको समेत पौडलले बताए ।

आब २०७७।७८ मा मकालु गाउँपालिकामा सवैभन्दा बढी ७ करोड ७२ लाख ६३ हजार रुपैयाँ अर्थात जम्मा बजेटको १०.६९ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै, चैनपुर नगरपालिकामा ८ करोड ६५ लाख ६२ हजार रुपैयाँ (६.५१ प्रतिशत), पाँचखपन नगरपालिकामा ६ करोड ७१ लाख ३२ हजार (७.७५ प्रतिशत) रकम बेरुजु देखिएको हो ।

खाँदबारी नगरपालिकाको ४ करोड ४५ लाख ५९ हजार रुपैयाँ (२.९२ प्रतिशत), धर्मदेवी नगरपालिकाको ३ करोड ५१ लाख ७१ हजार रुपैयाँ (४.६४ प्रतिशत) र मादी नगरपालिकाको २ करोड ३७ लाख २८ हजार रुपैयाँ (३ प्रतिशत) बजेटमा बेरुजु आएको हो । भोटखोला गाउँपालिकामा २ करोड १६ लाख २० हजार रुपैयाँ (४.५६ प्रतिशत) बेरुजु आएको हो भने सभापोखरी गाउँपालिकामा ९७ लाख ५ हजार रुपैयाँ (१.८९ प्रतिशत) बेरुजु देखिएको हो ।

गत आर्थिक बर्षमा दश स्थानीय तहहरुमा जम्मा बजेटको ४४.२९ प्रतिशत बेरुजु आएको मलेपको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार