घरायसी झगडाका कारण दाजुको हत्या गर्ने भाइ सहित दुई जना पक्राउ



धरान । खोटाङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा प्रहरीले २२ वर्षीय सहोदर भाइ र १५ बालक लाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख एसपी उमेश लम्सालका अनुसार खोटाङ दिक्तेल रुपाकोट मझुवागढी ३ बाम्राङ काँढे टोल बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

घरायसी झगडाका कारण दाजु भाइको बिचमा विवाद भएको कारणले गर्दा गिरीराजको हत्याको अभियोगमा प्रहरीले सहोदर भाइ खोटाङ रुपाकोट मझुवागढी ३ बाम्राङ काँढे टोल बस्ने २३ वर्षीय नारायण थापा तथा सोही स्थानका भतिजो नाता पर्ने १५ को वर्षीय बालकलाई पक्राउ गरेको हो ।

लम्सालले भने, ‘गिरीराज थापाको पटक पटक घरमा झैझगडा भएकाले परिवारमा नियमित कलहले हैरान बनाएपछि योजनाबद्ध तवरले हत्या गरेको पक्राउ परेका दुवै स्वीकार गरेका छन् ।”

भाइ नारायणले सूर्य बहादुर थापाको सल्लाघारीमा गिरीराजको मृत अवस्थामा फेला पारी घरमा ल्याई राखेको भनेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीले टेलिफोनबाट जानकारी प्राप्त हुन साथ तत्काल खोटाङ प्रहरी कार्यालय प्रमुख लम्साल सहितको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

मृतकको शवको घाँटीमा निल डाँम देखेपछि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गर्दै जाँदा भाइ र भतिज माथि हत्याको शङ्का भएकाले दुईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सल्लाघारी स्थानमा रहेको भोटे पिपलको रुखमा भैँसी बाँध्ने नाइलनको डोरीले घाँटीमा बाँधी कर्तव्य गरेको हत्या गरेको उनीहरूले स्वीकार गरेका छन् ।

घटनामा प्रयोग गरिएको डोरी सहित उनीहरूलाई कानुन बमोजिम पक्राउ गरी खोटाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद गरी थप अनुसन्धान कार्य गरी रहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार