संखुवासभा । नेपाली काँग्रेसको चौधौं महाधिवेशन आउनै लाग्दा संखुवासभामा पनि राजनितिक माहौल तातेको छ । भदौ १८ गते देखि हुने विभिन्न तहको अधिवेशनका कारण कांग्रेसको कसरत केन्द्र देखि गाउँसम्मै भ्याइनभ्याई छ । संखुवासभाको हिसाबमा हेर्ने हो भने अधिवेशनकै ताकेतामा जिल्ला कार्यसमितिले मंगलबार खाँदबारीको कांग्रेस पार्टी कार्यालयमा कार्यसमितिको बैठक बसिरहेको छ । जिल्ला, पालिका र वडाहरुमा अधिवेशन तयारीका विषयमा छलफल हुने भएपनि विशेषगरी सभापति चयनका लागि सहमति खोज्न यो बैठकमै प्रस्ताव नभएपनि अप्रत्यक्ष रुपमा कसरत हुनेनै छ । तर आकांक्षीहरुको जोडबल हेर्दा सहमती नहुने सम्भावना भने छ ।
जिल्ला नेत्ृत्वको लागि सभापति लगायत विभिन्न पदका लागि आकांक्षीहरुले आ–आफ्नै जनमत बटुल्न अप्रत्यक्ष रुपमा कसरत पनि गरिरहेका छन् । विशेषगरी यो पटक जिल्लामा सभापति पदमा तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । स्रोतका अनुसार, बहालवाला सभापति दीपनकुमार श्रेष्ठले फेरि पनि दोहोरिने चाहना राखेका छन् भने महासमिति सदस्य रहेका मुत्तिसिं राई अग्रपंतिका आकांक्षी हुन् ।
यसैगरी जिल्ला उपसभापति रामकुमार जिमी, महाधिवेशन प्रतिनिधि कुमारबाबु अधिकारी, प्रदेश क्षेत्रीय कार्य समिति(ख)का सभापति दीपक लिम्बूले जिल्ला सभापतिमा दाबी गर्न सक्ने देखिएको छ ।
संखुवासभामा केन्द्र भन्दा पृथक गुटगत संरचना रहेको छ । संखुवासभामा विशेषगरी पूर्वराज्यमन्त्रीद्वय तारामान गुरुङ र दीपक खड्काले कसलाई सहयोग गर्छ भन्ने आँकाक्षीहरुको चाहाना रहेको बुझिन्छ । ती दुई राज्यमन्त्रीले कसलाई सघाउँछ उही नै सभापतिको उम्मेद्वार बन्ने सम्भावना प्रवल छ । अहिलेसम्म आकांक्षीहरु खुलेर नबोले पनि सचिव र प्रदेश क्षेत्रीय कार्यसमितिको सभापतिमा पनि कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ ।
पार्टीको केन्द्रीय समितिले आगामी भदौ १८ गते नगर÷गाउँ वडा अधिवेशन, २७ गते पालिकास्तरीय अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, ५ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷संघीय एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, १० गते दुई वा दुईभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन, कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ ।
प्रतिक्रिया