संखुवासभामा कसरी भयो एकै परिवारका ६ जनाको हत्या ?



संखुवासभा । आइतबार राती संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका १ उम्लिङ स्थित खोला गाउँमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या भएको हो । तेजबहादुर वर्ष ५८, उहाँकी आमा ८० वर्षकी पार्वता, श्रीमती मनमाया वर्ष ५६, बुहारी रञ्जना वर्ष २८, नाती दिपेन वर्ष १० र नातीनी गोमा वर्ष ५ को हत्या भयो ।

परिवारका १० जना मध्ये घरमा रहेका ७ जनामा बुबा बौद्धमान मात्र सकुशल भेटियो । कान नसुन्ने र बोली प्रष्ट नभएका बौद्धमानलाई बिहान उठेपछि मात्र घटना थाहा भयो ।

कार्की परिवारका दुई जना वैदेशिक रोजगारीमा छन् । जेठो छोरो रमेश मलेसियामा र कान्छा छोरा नरेश दुवईमा छन् । नरेशकी श्रीमती झापाको दमकमा बस्दै आएका छन् । विदेशमा रहेका रमेशको श्रीमती अन्जना, छोरा दिपेन र छोरी गोमा सहित बुबा, आमा र हजुरआमाको हत्या भएको हो ।

हत्या भएकाहरुको विभिन्न स्थानमा शव भेटिएपछी घटना झनै रहस्यमयी भएको छ । मृतक तेज बहादुरको घर नजिकै रोडको भित्तामा, आमा पार्वताको घरैमा, श्रीमती मनमाया र बुहारी रञ्जनाको घर नजिकैको खोल्सामा, नाती दिपेन र नातीनी गोमाको घर माथि खरबारीमा शव भेटिएको थियो ।

घरदेखि सय मिटर परसम्म शव रहेको र धारीलो हतियार, छुरा प्रयोग गरि हत्या गरिएकोले घटना शंकास्पद रहेको स्थानीय र प्रहरीले बताएका छन् । घटनाको प्रकृति हेर्दा जिल्लाको प्रहरीबाट मात्र अनुसन्धानले पुर्णता पाउने नदेखिएपछी संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट ८ जनाको विज्ञ टोली सहित तालित प्राप्त कुकुर ल्याइएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिनु भयो । धरानबाट आएको एसपी भीम दाहालको टोलीले घटना स्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार