संखुवासभा सामूहिक हत्याको अनुसन्धानमा सीआईबी पनि खटियो


२२ भाद्र २०७८, मंगलबार


काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) को टोली पनि खटिएको छ । घटना रहस्यमय भएको भन्दै अनुसन्धानका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीआईबी टोली पनि पठाएका हुन् ।

सीआईबी स्रोतका अनुसार सीआईबीका एक जना प्रहरी नायब उपरीक्षक ९डीएसपी० को नेतृत्वमा टोली संखुवासभा पठाइएको छ । टोलीले प्राविधिक विश्लेषण र अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, संखुवासभालाई सहयोग गर्नेछ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय, धरानका एसपी भीम दाहाल पनि खटिएका छन् ।

प्रदेश नं.१ प्रहरी कार्यालयले रिजनल इन्भिेस्टिगेटिभ टिम ( आरआईटी ) पनि खटाएको छ । सोमबार बेलुकी डग स्निफिङ गरिसकेर प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान थालेको छ ।

सोमबार बिहान मादी नगरपालिका १, उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो । घटनामा आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीया बौद्धमान सकुशल छन् ।

हालसम्म अनुसन्धानमा प्रहरीले ठोस प्रगति हात पारिसकेको छैन । मृतक परिवारले झापामा जग्गा किन्नका लागि पैसा जम्मा गरेर घरमा राखेको आशंका गरिएको छ । त्यही पैसाका कारण घटना भएको हुनसक्ने अनुमान छ ।

सम्बन्धित समाचार