संखुवासभामा हत्या गरिएका ६ जनाको इटहरीमा दाहसंस्कार


२४ भाद्र २०७८, बिहिबार


इटहरी । संखुवासभाको मादी १ खोलागाउँको उम्लिङमा सोमबार हत्या गरिएका एकै परिवारका ६ जनाको शवलाई बुधबार इटहरीमा दाहसंस्कार गरिएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो ५ घण्टा लगाएर पोष्टमार्टम गरेपछि साँझ इटहरी ल्याएर बुढीगंगा जमुना मुक्ति घाटमा दाहसंस्कार गरिएको हो।

८४ वर्षीया पार्वता कार्की, उनका ५२ वर्षीय छोरा तेजबहादुर कार्की र उनकी श्रीमती ५२ वर्षीया कमला कार्की, यस्तै तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की र उनका दुई छोराछोरी ११ वर्षीय दिपेन र ७ वर्षीया गोमालाई तीन चितामा राखेर जलाइएको हो।

तेजबहादुरका विदेशमा रहेका दुई छोराहरुमध्ये एक नरेश कार्की अन्तिम संस्कारको लागि आइपुगेका थिए। उनीहरुलाई जलाउन ल्याउने भएपछि इटहरीको घाट दिउँसोदेखि नै आफन्त गाउँले र स्थानीयले भरीभराउ थियो। लासलाई गाडीबाट निकाल्दै गर्दा घाटमा रुवाबासी चलेको थियो।

दाहसंस्कार पछि मृतकका आफन्तहरुले घटनाको छिटो छानविन गर्न माग गरेका थिए। उनीहरूले घटनाको बारेमा अफवाह फैलाएको भन्दै युट्युबरहरुसँग रोष प्रकट गरेका थिए।

सम्बन्धित समाचार