खाँदबारी-सभाखोला ज्यानमारा सडक



खाँदबारी । संखुवासभाको सदरमुकाम खाँदबारी देखि सभाखोलासम्म १६ किलोमिटर सडकखण्ड पछिल्लो समय मृत्युको पासो जस्तै बनेको छ । सडकको दुर्दशाका कारण यो सडकखण्डमा धेरैले ज्यान गुमाइसकेका छन् भने अन्य धेरैले दुर्घटनाबाट अंगभंग भएका छन् । सडक मर्मतमा सम्बन्धीत निकायको ध्यान नपुग्दा सडक दुर्घटना समेत बढ्न थालेको छ ।

ट्राफिक प्रहरी कार्यालय संखुवासभाको तथ्यांक अनुसार २०७७÷७८ मा उक्त सडक खण्डमा १३ वटा दुर्घटना भएको छ । जस्मा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

यसरी हेर्दा उक्त सडकखण्ड यात्रु र यातायात व्यवसायीका लागि मृत्युको पासो बनेको छ । यति धेरै दुर्घटना हुनुको मुख्य कारण सडकमा भएको खाल्डाखुल्डीहरु हुन् । २०६८/०६९ मा पिच गरिएको उक्त सडकखण्ड गुणस्तरीय ढंगबाट मर्मत हुन नसक्दा सवारी दुर्घटना बढ्दै गएको छ । सडकको बिचबिचमा खाल्डो र सडकको दायाँबाया कटान भएपछी यो सडक यात्रुहरुको लागि दुर्दशा बनेको छ । खाल्डाखुल्डी तर्काउनु पर्ने र साँघुरो बाटोमा डबल गाडी ओहोरदोहोर कतिपय अवस्थामा दुर्घटना हुने गरेको यात्रु राम शेर्पाले बताए ।

यातायात व्यवसायीहरु यो सडकखण्डमा सवारी साधन चलाउन्दा सडकको बिचमा भएको खाल्डो तर्काउँदा अर्को सवारीसँग जुध्ने डर त छँदैछ साँघुरो सडकका कारण पनि उत्तिकै जोखिम पनि छ । तर सम्बन्धीत निकायको चासो नपुग्दा सवारी चालक, यात्रु र व्यवसायीहरुले यो दुख कहिलेसम्म झेल्नु पर्ने हो थाहा छैन । अरुण तेस्रोका ठूला गाडीहरुको आवतजावतका कारण पनि सडक बिग्रेको टेम्पो चालक मोहन मगरले बताए । सडकको क्षमता भन्दा धेरै लोडका गाडीले सडक बिगारेको र कुनै पनि निकायले सडक मर्मतमा ध्यान नदिएको उनको भनाई छ ।

सडक डिभिजन कार्यालयले २०७७/०७८ मा रामचन्द्र निर्माण सेवालाई ठेक्का दिई सभाखोला देखि ७ किलोमिटर खाँदबारी तर्फ सडक मर्मत गरिएको थियो । यो सडकको ७ किलोमिटर दुरीमा ३४ लाख ६१ हजार खर्च गरेर मर्मत गरिए पनि सडकको हालत भने फेरिएको छैन ।

बजेट कम भएको भन्दै सोही आर्थिक वर्षयता डिभिजन कार्यालयले नै निर्माण सामाग्री खरिद गरेर दैनिक कामदार प्रयोग गरी मर्मतको काम गरिरहेको छ । सभाखोला देखि खाँदबारी तर्फ ७ किलोमिटर बाहेकका अन्य स्थानमा सडक मर्मत सुरु गरिरहेको छ । तर मर्मत कार्य सम्पन्न नभई पुन सडक भत्कीने र खाल्डो पर्न थालीसकेको खाँदबारी ढुंगेधाराका दिव्यराज श्रेष्ठले बताए ।

सडक डिभिजन कार्यालयले पुन गत साउन १० गते सडक मर्मतका लागि ठेक्का आह्वान गरेको छ । २० लाख रुपैंयाको उक्त ठेक्का मार्फत सभाखोला देखि खाँदबारीसम्म मर्मत गरिने भनिएको छ । तर बजेट कम भएको भन्दै खाँदबारीसम्म मर्मत गर्न नसकिने भन्दै सडक डिभिजन कार्यालय पन्छिएको छ ।
आगामी ठेक्कामा पनि रकम कम हुने भएकाले जति सकिन्छ मर्मत गर्ने हो, जसका कारण सडक दुर्घटना कम होस भन्ने चाहना छ, सडक डिभिजन कार्यालय तुम्लिङटारका इन्जिनियर रोषन कुमार देवले भने

यसरी पटकपटक ठेक्का र मर्मत कार्य भएपनि सडकको हालत भने उस्तै छ । खाल्डा पुर्ने र टाल्ने कामले सर्वसाधरणका लागि आँखामा छारो हाल्ने काम भएपनि सडकको हालको स्थिति हेर्दा सडक डिभिजन कार्यालयको काम कति गुणस्तरीय छ भनेर सोझै अनुमान गर्न सकिन्छ ।

 

सम्बन्धित समाचार