कार दुर्घटनामा बेलबारीकी महिलाको मृत्यु, तीन जना घाइते



​​​​​​​मोरङको बेलबारी घर भएकी एक महिलाको आज (बिहीबार) कार दुर्घटनामा परेर मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बूढीगङ्गा गाउँपालिकामा दुर्घटनामा परेर मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार चन्द्रकला सवार वा११च १५७१ नम्बरको कार आफैँ अनियन्त्रित भएर कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा दुर्घटनामा परेको थियो । बेलबारीबाट विराटनगरतर्फ आउँदै गरेको कार सडकमा रहेको बिजुलीको पोलमा ठोक्किँदा बिहान ११ः३० बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले दिएको छ ।

दुर्घटनामा कार चालक बेलबारी–१ का ३८ वर्षीय बाबुराम कार्की, बेलबारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल घाइते सामान्य भएका छन् । घाइते सबैको विराटमै उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार मृतक चन्द्रकला र घाइते सानी मुटुसम्बन्धी पुरानै समस्या रहेकी छिमेकी गीता लिम्बूलाई लिएर उपचारका लागि विराटनगरतर्फ आउँदै गरेको खुलेको छ । दुर्घटनामा परेर कार पूर्ण रूपमा क्षतिग्रस्त बनेको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार