इटहरीका मेयरले महिला सेवाग्राहीलाई ‘अपशब्द’ बोलेको विरोधमा नाराबाजी



सुनसरी । इटहरीका महिलाहरूले मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरेका छन् । मेयरले महिला सेवाग्राहीलाई अपशब्द बोलेको भन्दै विरोधमा उत्रिएका उनीहरूले उपमहानगरपालिका गेट अगाडि नाराबाजीसमेत गरेका छन् ।

बुधबार दिउँसो उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै कार्यालय अगाडि संयुक्त विरोध कार्यक्रमको ब्यानर टाँगेकामा प्रहरीले ब्यानर निकालिदिएपछि महिलाहरू झन् आक्रोशित बनेका हुन् । उनीहरूले चौधरीलाई कारवाही गर्न माग गर्दै नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

गत बुधबार दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र शर्मिला भट्टराईलाई सेवा सिफारिसमा तोक लगाउने क्रममा महिलाहरूकै अपमान हुने गरी जथाभावी अपशब्द बोलेर दुर्व्यवहार गरेको बताइएको छ । सो क्रममा मेयर चौधरीले नगर प्रहरीसमेत लगाउने धम्की दिई दुर्व्यवहार गरी धम्क्याएको भन्दै दर्जनभन्दा बढी महिला अधिकारवादी संस्थाहरूले विरोध जनाएका थिए ।

स्थानीय तहको नेतृत्व लिइरहेका प्रमुख जिम्मेवार व्यक्तिबाट नै महिलाहरूलाई दुर्व्यवहार भएको भन्दै विभिन्न संघसंस्थाहरूले विरोध जनाएका हुन् । उनीहरूले बुधबार शान्ति सुरक्षा कायम गर्न, महिला हिंसा बन्द गर्न माग गर्दै नाराबाजी गरेका हुन् । मेयर चौधरीले सार्वजनिक स्थानमा माफी नमागेसम्म आन्दोलन नरोकिने उनीहरूले बताएका छन् ।

सम्बन्धित समाचार