संखुवासभा । गत सोमबार साँझ परेको असिना पानीले संखुवासभाको माथिल्लो क्षेत्रका किसानहरुले लाखौ बराबरको नोक्सानी ब्यहोर्नु परेको छ । मुख्य गरि अन्नबाली र नगदे बालीमा क्षति पुग्दा किसानहरु निक्कै पिडामा परेका छन् ।
खाँदबारी नगरपालिका ५ भिरगाउँमा करिव २२ रोपनीमा लगाईएको अर्गानिक अकबरे खोर्सानीलाई असिना पानीले क्षति पुर्याएपछि किसानहरु निराश बनेका हुन । एभरेष्ट कृषी फर्म, दिनेश राई, रामायण राई, सटकुमार राई र टिकाराम गुरुङले २२ रोपनीमा लगाएको अर्गानिक अकबरे खोर्सानी असिनाले नष्ट गरिदिएको हो । ८ लाख रुपैयाँ लगानीमा १५ रोपनी क्षेत्रफलमा लगाएको खोर्सानीबाट २० लाख रुपैयाँसम्म आमदामी लिने अपेक्षा गरिएको थियो । तर खोर्सानी पुर्ण रुपमा नष्ट भएको भएरेष्ट अर्गानिक कृषी फार्मका सञ्चालक गंगाराज राईको भनाई छ । असिनाले फल र बोटमा क्षति पुर्याएको र बोटमा रहेको दानामा पनि चोट लागेकोले काम नलाग्ने राईले बताएका छन् ।
यहाँका किसानहरुले ब्यक्तिगत र सामुहिक गरि १९ हजार बोट खोर्सानीको बिरुवा लगाएका थिए । कृषी उपज उत्पादनको लागि ७५ रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको पहिलो खेती नै असिनाले लगिदिएको कृषक दिनेश राईले दुखेसो सुनाए । लाखौ रुपैयाँ खर्चेर लगाएको बालीमा क्षति पुग्दा सरकारले राहतको ब्यवस्था गर्नु पर्ने राईको माग छ ।
करिव १ हजार पाँच सय मिटरको उचाई रहेको भिरकुना गाउँमा अकबरे खोर्सानीको राम्रो उत्पादन हुने गर्दछ । यहाँको चिसो हावापानीमा उत्पादन भएको खोर्सानी स्वादिलो हुने भएकोले धेरैको रोजाईमा पर्ने गर्छ । थोरै जनसंख्या भएको यस गाउँमा खोर्सानीबाटै जिविका चलाएदै आए पनि यस बर्ष असिनाले झारिदिएपछि किसानहरु भोकमारीमा पर्ने चिन्तामा छन् ।
प्रतिक्रिया