गाउँलेसँग मुख्यमन्त्री राईको बाचा ः प्रदेशको नामाकरण र अरुणमा पक्की पुल



१ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणसहित अरुण नदीमा कुनै पनि हालतमा पुल बनाउने व्यवस्था गर्ने बताएका छन् ।

गृहनगर षडानन्द नगरपालिकाबासीले आफ्ना लागि आयोजना गरेको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले पूर्वमुख्यमन्त्रीहरूले प्रदेशको नामकरण गर्ने विषयमा छलफल नै नगरेको बताए ।

प्रदेशको नामाकरण गर्ने बिषयमा कम्तीमा दुई तिहाई बहुमतले पास गर्नुपर्ने संविधानमा व्यवस्था छ । प्रदेश नामाकरणको विषयमा ठूला राजनीतिक दलले संसद्मा प्रस्ताव लानुपर्ने हुन्छ ।

तर, प्रदेशमा अहिलेसम्म त्यस्तो नभएको भन्दै उनले अब गठबन्धनले त्यही प्रक्रियाबाट नामाकरणको विषयमा अगाडि बढाउने उनले गाउँलेसँग प्रतिबद्धता गरे ।

लामो समयदेखि भोजपुरको षडानन्द र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीमा पक्की पुल निर्माण हुन नसकेकामा आफू दुःखी रहेको मुख्यमन्त्री राईले बताए ।

‘विगतमा यहाँ पुल निर्माण कार्य हुन सकेन,’ उनले भने, ‘मेरो कार्यकाल छोटो भएपनि अरुण नदीमा पक्की पुल निर्माण गर्छु ।’

तिहार मनाउन गाउँ आएका मुख्यमन्त्री राई केही दिनदेखि आफ्नै जिल्लामा बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा व्यस्त छन् ।

उनी मङ्गलबार (आज) गृहनगर दिङ्लाबाट सङ्खुवासभा हुँदै धनकुटा जाने तयारीमा छन् ।

 

सम्बन्धित समाचार