चैनपुर नगरपालिका : भ्रमणका नाममा स्वीकृतिविनै मेयरले लिए साढे ३ लाख बढी भुक्तानी



सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले चीन भ्रमणका नाममा निर्णयविनै करिब चार लाख रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

वैदेशिक भ्रमणमा जानुपूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने भए पनि प्रमुख खत्रीले स्वीकृति नलिई २०७५ असोज ४ गते चीन भ्रमणको नाममा ३ लाख ९९ हजार ५ सय रुपैयाँ लिएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा उनी चीन भ्रमण गएको भए पनि मन्त्रालयको स्वीकृति नलिई नै भ्रमण गरी भुक्तानी लिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख खत्रीसहित नगरपालिकाको नेतृत्वले विभिन्न भ्रमण तथा अनुगमनका नाममा रकम लिएको स्थानीय कुमारबाबु अधिकारलिे बताए । नगर प्रमुख खत्रीसहित नगरपालिकाको नेतृत्वको नाममा चार वर्षदेखि बेरुजु रहेको उनले बताए । आर्थिक वर्ष २०७४/०७५ अन्तर्गत २०७५ असार ३ गते खाँदबारी भ्रमणबापत पेश्की स्वरूप दुई लाख रुपैयाँ भुक्तानी लिएका छन् ।

मलेपको प्रतिवेदन अनुसार चैनपुरबाट करिब ३९ किलोमिटरको दूरीमा रहेको खाँदबारी पुग्दा २ लाख रुपैयाँ पेश्की लिएका छन् । उनीसँगै उपप्रमुख मुना श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षहरूले पनि २० लाख ९५ हजार रुपैयाँ पेश्की लिएको देखिन्छ ।

उक्त विषय आ.व. २०७४/७५ को महालेखा परीक्षकले प्रकाशित गरेको प्रतिवेदनको बुँदा नम्बर २६ मा उल्लेख छ । त्यस्तै सवारी साधनबापत वार्षिक ९६ हजार रुपैयाँ लिए पनि कार्यालयकै सवारी साधन प्रयोग गरी रकम लिएका छन् ।

 

 

सम्बन्धित समाचार