कटुवा पेस्तोलसहित एक जना पक्राउ



विराटनगर । झापाका एक जना युवालाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले कटुवा पेस्तोलसहित आइतबार बिहान पक्राउ गरेको छ। झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीका २४ वर्षीय मुगालाल माझीलाई घरैबाट हतियारसहित पक्राउ गरिएको जानकारी सशस्त्र प्रहरी बल झापाका प्रवक्ता डीएसपी प्रेमबहादुर भण्डारीले दिए। माझीले आफ्नै घरमा हतियार लुकाएर राखेको जानकारी सुरुमा सशस्त्रलाई आएको थियो।

त्यसपछि नेपाल प्रहरीसँग समन्वय गरेर उनको घरमा खानतलासी गरिएको डीएसपी भण्डारीले बताए। डीएसपी भण्डारी र नेपाल प्रहरीका निरीक्षक दलकुमार राई नेतृत्वको संयुक्त टोलीले माझीको घरमा छापा हानेको हो। त्यस क्रममा बिहान ६ः३० बजेतिर बाहिरपट्टि लुकाएर राखेको अवस्थामा खाली पेस्तोल फेला परेको भण्डारीले बताए। पेस्तोलमा लाग्ने गोली भने भेटिएन।

प्रहरीका अनुसार गोली कतै लुकाएर राखिएको हुनसक्ने आशंकामा थप अनुसन्धान अघि बढाइएको छ। पेस्तोलसहित पक्राउ परेका माझीविरुद्ध हातहितयार खरखजना मुद्दा चलाइने भएको छ। पेस्तोल कहाँबाट ल्याएका हुन्भन्ने तत्काल नखुले पनि प्रहरीले भने भारतबाट ल्याएको हुनसक्ने आशंका गरेको छ।

यसअघि पनि सशस्त्र प्रहरीले झापाबाट दुई पटक गरेर हतियार र विष्फोटक पदार्थ बरामद गरिसकेको छ। सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीले बारम्बार हतियार र विष्फोटक पदार्थ फेला पर्न थालेपछि भारतसँग सीमा जोडिएका स्थानमा थप निगरानी बढाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्।

शान्ति सुरक्षाका सवालमा कुनै पनि सम्झौता नगर्न र थप चनाखो रूपमा प्रस्तुत भएर शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन उनको निर्देशन छ। ‘विशेष टोली परिचालन गरेर नेपाल–भारत सीमा क्षेत्रलाई उच्च निगरानीमा राखिएको छ,’ डीआइजी गिरीले भने, ‘अवैध एवम् अवाञ्छित गतिविधी नियन्त्रणमा लिन नेपाल प्रहरीसँग समन्वय गर्दै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ।’ गिरीले हतियार एवं लागुऔषधको ओसारपसार, सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण र शान्ति सुरक्षाका सवालमा सशस्त्र प्रतिवद्ध रहेको बताए।

 

सम्बन्धित समाचार