किमाथाङ्का नाका नखुल्दा भोटखोलावासीलाई समस्या



संखुवासभा । दुई बर्ष अघि कोरोना भाईरस संक्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका नखुल्दा भोटखोलावासीलाई समस्या परेको छ । दैनिक उपभोग्य सामग्रीका लागि चिन स्वशासित क्षेत्र तिब्बतको भर पर्दै आएका भोटखोलावासीलाई नाका नखुल्दा समस्या परेका हुन् ।

लामो समयसम्म नाका नखुल्दा मुख्य गरि भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथाङ्का, २ च्याम्ताङ र वडा नम्बर ३ हुङ्गुङका नागरिकहरुलाई असहज भएको हो । जिल्ला सदरमुकाम खाँदबारीसँग सडक सञ्जाल नजोडिएको यस क्षेत्रका नागरिकहरु रोजगारीका लागि समेत तिब्बत जाने गरेका थिए । विहान सिमा पारी (तिब्बत) मा काम गर्न जाने र साँझ फर्किने गरेका भोटखोलावासीहरुका लागि आमदामीको श्रोत समेत अहिले ठप्प भएको छ ।

किमाथाङ्काका स्थानीय वाङ्दावी भोटेका अनुसार किमाथाङ्का, च्याम्ताङ र हुङ्गुङका नागरिकहरु बढी जसो निर्माणको क्षेत्रमा मजदुरी गर्न जाने गरेका थिए । केही भने ब्यापारिक प्रयोजनका लागि तिब्बत जाने गरेका थिए । नाका बन्द हुन अघि चिन सरकारले नै तिब्बतको चाँगा बजारमा निर्माण गरिदिएको एक ब्यापारिक भवनबाट खाद्यन्न सामग्रीहरु नेपाल पनि निर्यात गरिन्थ्यो । कोरोना यता नेपाल तिब्बत विच भएर बग्ने काम्मा (कामु) खोलाको पुलको गेट बन्द गरिएपछि भोटखोलावासीहरु तिब्बती बजारको पहुँच बाहिर भएका हुन् ।

किमाथाङ्का नाका बन्द भएपछि भोटखोलामा पटक पटक खाद्यन्न संकट हुने गरेको छ । गत बर्ष भोटखोलामा खाद्यन्न संकट भएपछि सरकारले हेलिकप्टरबाट खाद्यन्न लगिएको थियो । दुई हप्ता अघि पनि हिमपातका कारण भुमार्गबाट ढुवानी गर्न नसकेपछि खाद्यन्न सुरु भएको थियो । पछि हिउँको सतह घटेलगत्तै खाद्यन्न पठाईएको थियो । जिल्ला सदरमुकाम खाँदबारीबाट किमाथाङ्का एक सय ६२ किलो मिटरको दुरीमा पर्छ । भोटखोलाको बरुण दोभानसम्म कच्चि सडकबाट यातायात सञ्चालन भएपनि वडा नम्बर २ च्याम्ताङदेखि घुङगाप्पासम्म सडक ट्रयाक नखुल्दा ढुवानीमा समस्या परेका छ । उक्त खण्डको १०.५ किलोमिटरको सडक ट्रयाक खोल्न नेपाली सेनाले काम गरिरहेको छ ।

नाका बन्द हुँदा रोजगारी समेत गुमाएका भोटखोलावासीले तत्काल नाका खोल्न माग गर्दै आएका छन् । पछिल्लो समय कोरोना संक्रमण दर समेत न्यून हुँदै आएकोले नाका खोलेर भोटखोलावासीको जनजीवन सहज बनाउन गाउँपालिका मार्फत सम्बन्धीत निकायहरुलाई माग गरिएको भोटखोला गाउँपालिका १ का वडा अध्यक्ष तेन्छेबी भोटेले बताउनुभयो । नाका खोल्नका लागि जिल्ला प्रसासन कार्यालयको ध्यानाकर्षण गरिसकिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले जानकारी दिनुभयो ।

किमाथाङ्का नाका खोल्नका लागि गृहमन्त्रालयलाई पत्राचार गरिसकिएको प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको भनाई छ । नाका खोल्नका लागि परराष्ट्र, अर्थ र उद्योग तथा बाणिज्य मन्त्रालयको पनि भुमिका रहने भएकोले उक्त मन्त्रालयहरुको समेत ध्यानाकर्षण हुने गरि पत्राचार गरिएको प्रजिअ खतिवडाले जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकबाट साभार गरिएको ।

सम्बन्धित समाचार