अरुण नदीको बेलिब्रिज भाँचिएपछि स्थानीयबासीलाई सास्ती



खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–१ र ५ जोड्ने बेलिब्रिज भाँचिएपछि स्थानीयबासीले सास्ती पाएका छन् ।

गत माघ २९ गते मकालु ५ को नुम र वडा नम्बर १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको थियो । अरुण नदीमा बेलिब्रिज भाँचिएपछि गाउँपालिका केन्द्रको सम्बन्धविच्छेद भएको मकालु–१ का वडाध्यक्ष वाङ्दी शेर्पाले जानकारी दिए ।

निर्माण सामग्री बोकेको लोबेट तार्ने क्रममा बेलिब्रिज भाँचिएको हो । अरुण नदीको बेलिब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको वडाध्यक्ष शेर्पाले बताए ।

बेलिब्रिज भाँचिएपछि वालुङतर्फ जाने र नुम आउने गाडीसमेत रोकिएका छन् । बेलिब्रिज भत्किएपछि उपभोग्य खाद्यान्नलगायत सामग्री डोकामा बोकेर लैजानुपर्ने अवस्था भएको वडाध्यक्ष शेर्पाले बताए ।

बेलिब्रिजको क्षमताभन्दा बढी सामग्री बोकेर तार्ने गाडी चालकलाई कारबाही गर्नसमेत वडाध्यक्ष शेर्पाले माग गरे । बेलिब्रिज चाँडो बनाउन सरोकारवाला निकायसँग माग गरिसकेको वडाध्यक्ष शेर्पाले बताए । निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा लोबेट ट्रक एकैपटक तर्ने क्रममा बेलिब्रिज भाँचिएको हो ।

बेलिब्रिज बनाउन सेनालाई दिने
मकाल–५ र १ जोड्ने बेलिब्रिज बनाउन नेपाली सेनालाई दिने तयारी भएको इप्सुवा हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख भरत खत्रीले जानकारी दिए । “बेलिब्रिज बनाउन नेपाली सेनाले समेत चासो देखाएको छ । बेलिब्रिजको अध्ययन गर्न सेनाको टोली मकालु पुगिसकेको छ,” उनले भने ।

आयोजना प्रमुख खत्रीका अनुसार बेलिब्रिजको निर्माण एक महिनाभित्र सम्पन्न गर्ने बताए । बेलिब्रिज बनाउने नेपाली सेनाको टोलीको पनि सहयोग गर्ने भएका कारण महिना दिनभित्रै सम्पन्न गर्ने उनको भनाइ छ ।

५४ मिटर लामो बेलिब्रिजको क्षमता ३० टनमात्र रहेको थियो । विसं २०७५ मा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलिब्रिज निर्माण गरेको थियो ।

सम्बन्धित समाचार