धरान ४ स्थित जङ्गलमा फेला परेको जेब्रा झोलाको शव दिनेश सिग्देलको भएको खुल्यो



धरान । धरानमा यो साता जेब्रा झोलामा भेटिएको शवले निकै ठुलो चर्चा पायो । एक दिनको फरकमा अलग अलग झोलामा टुक्रा टुक्रा शरीर भेटिएको घटनाले प्रहरीलाई समेत हैरान बनायो ।

गएको बुधवार र बिहीबार अलग अलग झोला र स्थानमा भेटिएको जेब्रा झोला भित्रको शवको करिब ६ दिन पछि सनाखत भएको हो । शव भेटिएको वरीपरि केही त्यस्तो ठेगाना खुल्ने कागजातहरू फेला नपरे पछि प्रहरीलाई शवको सनाखत गर्न निकै कठिन भयो । तर ६ दिन पछि निरन्तर अनुसन्धानमा लागेको प्रहरीले मृतकको शवको सनाखत गरेरै छाड्यो ।

मृतक इलामको साबिक बाझो(१ बस्ने तर उनको पासपोर्टमा झापाको दमक नगरपालिका वडानं। ५ उल्लेख भएका दिनेश सिग्देल भएको प्रहरी सनाखतबाट खुलेको छ । प्रहरीका अनुसार उनको मृत्यु पारिवारिक कारणबाट भएको हो । उनका दुई श्रीमती रहेको र दुवै श्रीमती अलग अलग बस्ने गरेको खुलेको छ ।

उनी बहराइनबाट जनवरी ४ मा नेपाल आएका थिए । उनको धरान बाहिर हत्या गरेर धरान(४ स्थित धरान भेडेटार सडक खण्डको जङ्गलमा ल्याएर दुई वटा झोलामा राखेर फालिएको थियो । यो हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई धरान प्रहरीले गए राति विराटनगरबाट पक्राउ गरेको छ ।

शवको सनाखतसँगै दुई जना पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आशङ्कामा मृतककै कान्छी श्रीमती र अर्को एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । तर प्रहरीले थप अनुसन्धान गरिरहेकोले घटनाको बारेमा अहिले सम्म बृस्तिृत जानकारी भने दिएको छैन । प्रहरीले घटनाको बारेमा विस्तृत जानकारी दिनका लागि पत्रकार सम्मेलन गर्ने तयारी गरिरहेको प्रहरीले बताएको छ ।

अलग अलग झोला र स्थानमा टुक्रा टुक्रा भेटिएको शवको निकै लामो समय सम्म सनाखत हुन नसक्दा इलाका प्रहरी कार्यालय धरानले मृतकको स्केच तस्बिर र हुलिया सार्वजनिक गर्नुका साथै सूचना प्रसारण गरेको थियो ।

गत बुधवार धरान–४ को धरान–भेडेटार सडक खण्डको जेठामाने गोलाई नजिक जङ्गलमा गोठाला र दाउरा खोज्न जानेले जेब्रा झोला देखेको र सो झोलाबाट दुर्गन्ध आएकोले शङ्का लागि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले झोला खोलेर हेर्दा मानिसको टाउको र दाहिने खुट्टा फेला परेको थियो । त्यसको भोलिपल्ट बिहीबार बिहान प्रहरीले फेरी अर्को जेब्रा झोलामा बाँकी शरीर पहिले टाउको र खुट्टा भेटिएको स्थान भन्दा करिब १ किलो मिटर माथि जङ्गलमा फेला पारेको थियो ।

यो घटनाको सङ्घीय प्रहरी इकाई कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरिरहेको थियो ।

सम्बन्धित समाचार