वडाध्यक्ष र मालपोत कार्यालयको मिलेमतोमा २७ रोपनी जग्गामा जालसाजी



संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. ४ की ७४ बर्षिया विममाया तामाङलाई जालसाझी गरेर वडा नं. ४ का अध्यक्ष किङसाङ भोटेले २७ रोपनी जग्गा आफ्नो नातेदारको नाममा नामसारी गरेका छन् । विममाया तामाङको नाममा रहेको जग्गा वृद्धाभत्ता मिलाई दिने भन्दै खाली कागजमा ल्याप्चे लगाई झुक्याएर भोटेका आफन्त कल्पना भोटे, पाशाङ शेर्पा र ङिमा लाजुङको नाममा पास गराएका छन् । उक्त जग्गा १०६३ मेगावट क्षमताको अपर अरुण जलविद्युत आयोजना निर्माण क्षेत्रमा रहेको छ । उक्त आयोजनाले सो क्षेत्रमा मुआब्जा बापत प्रतिरोपनी १० लाख रुपैंया निर्धारण गरिसकेको छ ।

विममायाको नाममा रहेको कित्ता नं. २७५ र २८० को २७ रोपनी जग्गा फागुन २ गते कल्पना भोटेको नाममा वडाध्यक्षले थाहै नपाई नामसारी गरिदिए । तर विममायाका अनुसार आफ्नो नाममा भएको जग्गा अरुको नै भईसकेको त थाहा भएन नै बाबु दल बहादुर तामाङको नाममा भएको जग्गा आफ्नो नाममा कहिले र कसरी आयो त्यो समेत थाहा छैन । तर वडा कार्यालय गोलासम्म पुगेर बाबुको मृत्युदर्ता गराएकी बिममायाको हातमा अहिले बाबुको मृत्युदर्ता प्रमाण समेत छैन । वडाध्यक्ष भोटेबाटै मृत्युदर्ताको प्रमाण खोसिएको उनको दावी छ ।

उनले जग्गा फिर्ता गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभामा फागुन २२ गते उजुरी दिएका छन् । सोही दिन प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक छानविन र अनुसन्धान गरि कारबाही गर्न सिफारिस गरेको छ ।

अध्यक्ष भोटेले बृद्धाभत्ता मिलाई दिने र बजार घुम्न लैजाने भन्दै नागरिकता र धनीपुर्जा समेतका सम्पूर्ण कागज लगि खाँदबारी स्थित मालपोत कार्यालयमा करिब १५÷१६ थान खाली कागजमा ल्याप्चे, सहिछाप गर्न लगाई कसैलाई हल्ला नगर्न भनेका थिए । उनै वडाध्यक्षले फागुन ३ गते राती १ बजे विममायालाई घर पु¥याएका थिए ।

विममायाको नाममा फागुन १ गते जिल्ला प्रशासन कार्यालयले नागरिकताको प्रथम प्रतिलिपि दिएको छ । फागुन २ गते नै विममायाको नाममा जग्गा नामसारी भइआएको पाइएको छ । तर जग्गाधनीको सन्तान र आफन्त कोही नभएमा हकदावीका लागि मालपोत कार्यालयमार्फत कम्तिमा ३५ दिनको सूचना जारि गर्नुपर्ने हुन्छ । तर फागुन १ गते नागरिकताको प्रतिलिपि पाएका विममायाको नाममा भोलिपल्ट नै जग्गा नामसारी गरि सोही दिन कल्पना भोटेको नाममा नामसारि गरिदिएका छन् । यस्ले प्रस्टै बनाएको छ की जग्गा गायव पार्न वडाध्यक्ष मात्र हैन मालपोत कार्यालयको पनि प्रत्यक्ष संलग्न देखिन्छ ।

अहिले न्याय खोज्दै विममाया र उनका आफन्त सदरमुकाम खाँदबारीमा छन् । यससँग सम्बन्धित रहेका वडाध्यक्ष र मालपोतका कर्मचारी सहित ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

सम्बन्धित समाचार