‘पाँच वर्षमा खाँदबारीलाई नमुना नगरपालिकाको रुपमा देशभर चिनाउँछु’



संखुवासभाको खाँदबारी नगरपालिकाले स्थानीय निर्वाचनमार्फत नयाँ नेतृत्व पाएको छ । अब आगामी पाँच बर्षका लागि खाँदबारीका नगर प्रमुख हुन् – महेश थपलिया । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थपलियाले ८ हजार ३४ मतका साथ नगर प्रमुखमा आफूलाई सुरक्षित गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत ल्याए ।

खाँदबारी नगरबासीका लागि थपलिया कुनै नौलो अनुहार भने होइन । २०७४ को स्थानीय निर्वाचनमै कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका उनी एमालेका मुरारीप्रसाद खतिवडासँग ४ सय ३४ मतान्तरले पराजित भएका थिए । यसपाली भने थपलियालाई माओवादी केन्द्रको पनि साथ थियो । साथै, ५ वर्षअघि निर्वाचनमा पराजय भोगेपनि उनी विचलित नभई सधैं जनताको सुखदुःखका साक्षी बनिरहे । त्यसैको फल मान्नुपर्छ, यसपटक खाँदबारीबासीको आशिर्वाद थपलियालाई लाग्यो ।

थपलियाले नगरप्रमुखका रुपमा शुक्रबार पदभार ग्रहणसमेत गरे । ‘यतिका दिनसम्म पार्टीका कार्यकर्ता, मतदाता तथा मेरा शुभेच्छुकहरु मलाई जिताउन लागिपर्नुभयो,’ पदभार ग्रहणपछि थपलिया भन्दै थिए, ‘अबको पाँच वर्ष जनतालाई आफ्नो साथमा सरकार रहेको अनुभूति हुनेगरी काम गर्नेछु ।’

पदभार ग्रहण गरेसँगै स्वागतयोग्य निर्णय

नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधालाई प्रभावकारी बनाउन नागरिक सहायता कक्ष स्थापना गरी टोकन प्रणाली लागू गर्नेदेखि आत्मनिर्भर वडा बनाउनका लागि प्रत्येक वडालाई हरेक वर्ष एक करोड रुपियाँ बजेट विनियोजन गर्ने निर्णय थपलियाले पदभार ग्रहण लगत्तै गरे । मेरोलाइफस्टालसँगको कुराकानीमा उनले भने,‘सेवाग्राहीले घरमै बसी राजश्व तिर्नका लागि अनलाइन प्रणालीको स्थापना गर्ने, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुर्याउनुका साथै उनीहरुको घर–घरमै निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने निर्णयसमेत भएको छ ।’

यी बाहेक शिक्षा, स्वास्थ्य, पर्यटन, युवा स्वरोजगारका क्षेत्रमा कसरी काम गर्ने भन्नेबारे खाका कोरेको छु, पाँच वर्षमा खाँदबारीलाई साँच्चै नमुना नगरपालिकाको रुपमा देशभर चिनाउँनेछु । त्यस्तै, खाँदबारी नगरभित्र लाग्ने हाटबजारमा कृषिजन्य वस्तुमा लाग्ने कर खारेज गर्ने, नगरभित्र ‘एक घर–एक धारा’ को व्यवस्थापन गरी सर्वसुलभ खानेपानीको व्यवस्था गर्ने, हरेक वडाबाट नगरपालिका जोड्ने मूख्य सडकलाई पाँच वर्षभित्र कालोपत्रे गर्ने, नगरभित्रका दुर्गम क्षेत्रमा वर्षमा दुईपटक विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय भएको थपलिया बताउँछन् ।

त्यस्तै, सुत्केरी महिलाहरुलाई सुत्केरी खर्चबापत तीन हजार रुपियाँ उपलब्ध गराउने, पूर्ण रुपमा अपाङ्गगता भएकालाई वार्षिक दुई हजार रुपियाँ र ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वार्षिक तीन हजार रुपियाँ मूख्य चाडबाड खर्च उपलब्ध गराउनुका साथै नगरभित्रका अति विपन्न परिवारलाई काजकिरिया खर्चबापत एकमुष्ट पाँच हजार रुपियाँ उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख थपलिया बताउँछन् । ‘यी बाहेक शिक्षा, स्वास्थ्य, पर्यटन, युवा स्वरोजगारका क्षेत्रमा कसरी काम गर्ने भन्नेबारे खाका कोरेको छु,’ उनी आफूले देखेको सपना बताउँदै थिए, ‘पाँच वर्षमा खाँदबारीलाई साँच्चै नमुना नगरपालिकाको रुपमा देशभर चिनाउँनेछु ।’

थपलियाको राजनीतिक यात्रा
२०३६ देखि विद्यार्थी आन्दोलनमा होमिएका थपलिया पटक–पटक प्रहरीको गिरफ्तारीमा परे । उच्च शिक्षाको अध्ययनका सिलसिलामा २०३८ मा काठमाडौं झरेका उनको राजनीतिक यात्रा रत्नराज्यलक्ष्मी क्याम्पसबाट सुरु हुन्छ । उनी २०३९ मा रत्नराज्यमा नेविसंघको इकाइ सदस्य भए । २०४२ को सत्याग्रहमा भाग लिएका उनी २०४४ मा रत्नराज्यको स्ववियू निर्वाचनमा उप–सभापतिको उम्मेदवार बने । यद्यपि, पराजित भए ।

विद्यार्थी राजनीतिमा सक्रिय रहेका थपलिया २०४८ मा नेविसंघको केन्द्रीय सदस्य बने । साथै, २०४९ मा नेविसंघको केन्द्रीय प्रवक्तामा नियुक्त भए । उनी नै नेविसंघको पहिलो प्रवक्ता हुन् । त्यसपछि थपलिया संखुवासभा फर्किएर पार्टीगत राजनीतिमा होमिए । त्यहाँ जिल्ला सदस्य, महाधिवेसन प्रतिनिधि हुँदै महासमिति सदस्यसम्म बनेका थपलियाको राजनीतिक पृष्ठभूमीले उनलाई एक परिपक्व नेताको रुपमा चित्रण गर्दछ ।

सम्बन्धित समाचार