एसीसी महिला टी- २० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान ५० रनले पराजित



काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले भुटानलाई ५० रनले हरायो ।

जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अलआउट भयो । नेपालका बलरसामु निरीह भएका भुटानका एक जना ब्याटर बाहेक कसैले पनि दोहोर अंकमा रन बनाउन सकेनन् । भुटानकी छिरिङ्ग जाङ्मोले मात्र १६ रन बनाइन् ।

ओपनिङमा आएकी एसहे छोदेनलाई दोस्रो ओभरमै कविता कुँवरले बोल्ड आउट गराएपछि भुटानको विकेट पतन सुरु भएको थियो ।

भुटानलाई सस्तैमा अल आउट गर्न नेपालकी संगीता राईले ४ विकेट लिइन् । २.५ ओभर बलिङ गरेकी उनले मात्र ६ रन दिएर ४ विकेट लिएकी हुन् ।

यस्तै सीता राना मगर र कविता कुँवरले समान २ तथा अस्मिना कर्मचार्यले र इन्दु बर्माले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९४ रन बनाएको थियो । नेपालका ओपनर र पुछारका ब्याटरले गतिलो प्रदर्शन नगरे पनि मध्य क्रमका ब्याटरहरुले दोहोरो अंकमा रन बनाउँदा नेपालले भुटानलाई सम्मानजनक लक्ष्य दिएको थियो ।

नेपालका लागि पाँचौं क्रममा आएकी काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाइन् । चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी बकप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् ।

भुटानका लागि सोनम पाल्दोनले सर्वाधिक ४ विकेट लिइन्। अञ्जु गुरुङ र तासी चेकीले समान १र१ विकेट लिए ।

सम्बन्धित समाचार