वराहक्षेत्रको बाघ खोलाले ट्याम्पो बगायो, एक जनाको मृत्यु



चतरा । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाघ खोलाले अटो (ट्याम्पो) बगाउँदा एक जनाको मृत्यु भएको छ ।

अटोमा सवार वराहक्षेत्र १ चतरा बस्ने कल्पन राईको छोरी वर्ष १७ कि स्टिफिना राई खोलामा मृत अवस्थामा फेला परेकी छिन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार आइतबार राति करिब ७ बजे धरान–चतरा भित्री सडक खण्ड अन्तर्गत चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको अटो बाघ खोलाले बगाएको थियो । अटोमा चालक सहित ३ जना सवार रहेका थिए ।

अटो बगेको स्थान देखि करिब ६ सय मिटर तल स्टिफिनाको शव फेला परेको थियो । अटो ट्याम्पोमा सवार रसुवा जिल्ला गोसाईंकुण्ड गाउँपालिका(६ धुन्चे बस्ने वर्ष १८ कि आनिया तामाङको वाँया खुट्टामा चोट लागि घाइते भई स्थानिय चतरा अस्पतालमा उपचार भइरहेको छ । अटो चालक धरान १७ बस्ने वर्ष २२ को राजु राई सकुशल रहेका छन्

मृतक राईको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

बाघ खोला तर्ने क्रममा अटो र अटोमा सवारलाई खोलाले बगाई बेपत्ता भएको भनी राति करिब ८ बजे इलाका प्रहरी कार्यालय चतरामा खबर प्राप्त हुन साथ तत्काल इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी नायव निरीक्षकको कमान्डमा ५ जनाको टोली र सशस्त्र वेश क्याम्प चतराबाट सप्रसनीको कमान्डमा ६ जनाको टोली खटी खोजी कार्य भएको थियो । पुनः इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकको कमान्डमा ७ जनाको थप टोली खटी खोज र उद्धार गरेको थियो ।

सम्बन्धित समाचार