बिहे गर्छु भनेर बलात्कार गरे, एक लाख नगद पनि लुटे



काठमाडौं । ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन) ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग कुरा गरिरहेकी थिइन् ।

उनको कुरा सुनेर सुनिता प्रभावित भइन् । दुई सातामै जयले उनीसँग प्रेम प्रस्ताव राखे । सुनिताले पनि इन्कार गर्नु पर्ने देखिनन् ।

जयले त उनीसँग विवाह नै गरिहाल्ने पनि बताएका थिए । घरपरिवारसँग भनेर अघि बढ्दा साथ नपाइने भन्दै उनले भगाएर लैजाने कुरा सुनितासँग गरिरहेका थिए । सुनिताले पनि जयका सबै कुरा पत्याइन् र २९ जेठमा भागेर जान भन्दै घर छाडेर हिँडिन् ।

प्रहरी वृत्त, कालिमाटीका डीएसपी अनिल घिमिरेका अनुसार त्यसपछि सुनितालाई जयले काठमाडौं भोटेबहालको एक गेस्ट हाउसमा लगेर राखे । ‘केटाको असली रुप पीडितले होटलमा पुगेपछि मात्र थाहा पाइन् । ‘त्यहाँ पेय पदार्थमा मिसाएर उनले लठ्ठयाउने औषधि खुवाइदिएछन्,’ डीएसपी घिमिरेले अनलाइनखबरसँग भने, ‘त्यसपछि जबरजस्ती करणी गरेर साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल पनि लुटेर गएछन् ।’

प्रहरीका अनुसार भागेर विवाह गर्ने भनेपछि उनले घरमा भएको अलिअलि पैसा र सुन लिएर निस्किएकी थिइन् । तर मोबाइल समेत लगेपछि उनीसँग जयलाई चिन्ने कुनै आधार भएन । आफूमाथि आइपरेको आपतबारे उनले सोच्नै सकिरहेकी थिइनन् । दुई दिनसम्म त उनी फर्किएर आउलान् कि भनेर बाटो हेरिरहिन् । त्यसपछि ३१ जेठमा प्रहरी वृत्त, कालिमाटीमा जाहेरी दिइन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार पीडितले जाहेरी दिँदा पीडकको कुनै संकेत प्रहरीले पाएको थिएन । ‘होटलमा बस्दा समेत पीडित महिलाकै परिचय पत्र, मोबाइल नम्बरमार्फत डाटा इन्ट्री गराएको पाइएको छ,’ मैनालीले भने ।

तर प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेज र अन्य प्राविधिक पक्षको विश्लेषणबाट अनुसन्धान गर्दै जाँदा ‘जय’ भनिएका पीडकको खास नाम विश्व तामाङ भएको खुल्यो । उनले ‘जय’, ‘भोटे’, ‘आशिष’ गरी तीन वटा नामबाट आफूलाई चिनाउने गरेको पनि अनुसन्धानका क्रममा खुलेको एसपी मैनाली बताउँछन् ।

पक्राउ परेका तामाङमाथि जबरजस्ती करणी र चोरी सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद थप भएको मैनाली बताउँछन् ।

पीडितको चाहिँ घटनाबारे जानकारी पाएलगत्तै प्रसूति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गराइएको छ ।

सम्बन्धित समाचार