नेपालले हङ्कङलाई दियो ११० रनको लक्ष्य



काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपालले हङकङलाई ११० रनको लक्ष्य पेस गरेको छ । मलेसियाको किनरारा मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०९ रन बनाएको हो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ बनाएकी छन् । नेपालका लागि ओपनिङमा आएकी सीता राना मगर ९ रनमा रनआउट भइन् । तेस्रो क्रममा आएकी ब्याटर इन्दु बर्मा खाता खोल्नै नसकी आउट भइन् । चौथो क्रममा आएकी विकेटकिपर ब्याटर काजल श्रेष्ठ १ रनमै एलबीडब्ल्यु आउट भइन् ।

ओपनर बिन्दु रावल २८ बलमा २३ रन बनाउँदै एलबीडब्ल्यु आउट भइन् । छैटौं क्रममा आएकी ममता चौधरी ७ रनमा रनआउट भइन् । सातौं क्रमकी ब्याटर कविता जोशीलाई ४ रनमा एलिशा हर्बडले बोल्ड आउट गराइन् ।

खेलमा लगातार विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो । पाँचौ क्रममा आएकी रुबिना क्षेत्री र सातौं क्रममा आएकी अप्सरी बेगमको रनको ४४ रनको साझेदारीले नेपाललाई खेलमा फर्काएको हो । रुबिना ३२ रन र अप्सरी बेगम २२ रनमा अविजित रहे ।

हङकङका लागि चनका बेट्टीले सर्वाधिक २ विकेट लिइन् । मरियम बीबी र एलिशा हर्बडले समान १/१ विकेट लिए ।

समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।

हङकङ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । हङकङले भुटानलाई १४ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । आजको खेलको नतिजाले नेपालले सेमिफाइनलमा कुन टोलीसँग भिड्ने निर्धारण हुनेछ । नेपालले आजको खेल जितेमा समूह ‘ए’ को उपविजेता र पराजित हुँदा समूह ‘ए’ को विजेतासँग खेल्नेछ । समूह ‘ए’ मा युएई ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

सम्बन्धित समाचार