पौवादुङ्मा गाउँपालिकाले स्थानीय भाषा, संस्कृति झल्किन छुट्टै पाठ्यक्रम तयार पार्ने



भोजपुरको पौवादुङ्मा गाउँपालिकाले स्थानीय भाषा समेटिएको छुट्टै पाठ्य सामाग्री तयार पार्ने भएको छ । गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयलाई लक्षित गरेर पाठ्यपुस्तक तयार पार्न लागेको हो ।

केन्द्रीय सरकारले तयार पारेको पाठ्य सामाग्रीले स्थानीय स्तरको जानकारी बालबालिकामा नपुग्ने भन्दै पालिकाले नयाँ अभ्यास सुरु गरेको छ । कक्षा १ देखी ३ सम्म ५ पाठभार र कक्षा ४ देखी ८ सम्म थप ४ पाठ्यभार पर्नेगरि पाठ्य सामाग्री उपलब्ध गराउने भएको छ ।

पाठ्यक्रम निर्माण समिति नै गठन गरेर स्थानीय भाषा र परिवेश सुहाउँदो पाठ्यक्रम तयार गर्न लागिएको हो । जसले गर्दा स्थानीय भाषा, कला, संस्कृति, रहनसहन चाडपर्व तथा ऐतिहासिक र धार्मिक महत्त्वका विषयवस्तु पढाई हुने भएका छन् ।

शिक्षा क्षेत्रको विकाशले मात्र समग्र विकाशको मूल्याङ्कन हुने भएकाले त्यसको लागी पालिकाले जोड दिएको अध्यक्ष किरण राईले बताए । बालबालिकामा सान देखी स्थानीय महत्त्व र पहिचानको विषयमा जानकारी गराएर मात्र स्थानीय स्तरमा विकाश सम्भव हुने उनको भनाई छ । अहिलेको शिक्षा र चेतनाले ५० वर्ष पछिसम्म काम गर्ने भएकाले दीर्घकालीन फाइदाको लागि पालिका लागिपरेको उनले प्रष्ट पारे ।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय भाषा कला र संस्कृतिको संरक्षण देखी माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहकै जिम्मा लगाएको छ । जसको आधारमा पनि पौवादुङ्मा गाउँपालिकाले स्थानीय पाठ्यसामग्री तयार पार्ने भएको हो ।

 

सम्बन्धित समाचार