खाँदबारी नगरपालिकाले नगर बस सञ्चालन गर्ने



संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिकाले नगरबस सञ्चालन गर्ने भएको छ । शुक्रबार सुरु भएको १२औं नगर सभाको निती तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख महेश थपलियाले यस्तो बताएका हुन् । आर्थिक बर्ष २०७९/८० को निती तथा कार्यक्रम प्रस्तुत भएको छ । नगर प्रमुख थपलियाले निती तथा कार्यक्रम प्रस्तुत गर्दै नगर बस सञ्चालन, एक धर एक धारा जस्ता कार्यक्रमहरु लागु गर्ने भएको हो ।

संखुवासभा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतका संघसंस्थाहरुसंग समन्वय तथा साझेदारीमा बस सञ्चालन गर्ने भएको हो । नगर भित्रका बस सञ्चालन हुन सक्ने सडकहरुमा यसै आर्थिक बर्षदेखि सञ्चालन गर्ने भएको हो । यो संगै नगर भित्र सञ्चालन हुने साना सवारी साधनहरु नगरपालिकामा दर्ता गरि सञ्चालन गर्ने, उत्तर दक्षिण सडकको खाँदबारी नगरभित्रका सडकहरुमा पर्ने जग्गाको लगत कट्टा गर्ने जस्ता निती अवलम्बन गरिनेछ ।

प्रविधिमैत्री नगर बनाउन नगरपालिकाले डिजिटल सेवा तथा निःशुल्क इन्टरनेट सेवा लगायतका विषयमा समेत विशेष प्राथमिकता दिईएको छ । महिला, बालबालिका, अपाङ्ग लगायतका क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गर्ने समेत निती अवलम्बन गरिने बताईएको छ । नगर प्रमुख थपलियाले नगरभित्र निर्माण हुने भवनहरु अपाङ्गमैत्री भवन निर्माण गर्ने बताएका छन् । नगरपालिकाको सेवा प्रवाहसंगै सुशासनमा समेत विशेष ध्यान दिएको छ । मुस्कानसहितको सेवा, छिटो र छरितो दिने गरि विभिन्न कार्य गरिने निती ल्याईएको छ । नगरभित्र सञ्चालित निजी विद्यालयहरु, ठुला साना सबै व्यवसायलाई करको दायरामा ल्याउने निती अवलम्बन गरिने भएको छ । नगरपालिकाको अगामी सभा असार १७ गते हुने गरि स्थगित भएको छ ।

शुक्रबार नै भएको सभामा उपप्रमुख महेश्वरा श्रेष्ठ बज्रचार्यले आगामी आर्थिक बर्ष २०७९/८० को बजेट सार्वजनिक गरेकी छन् । सभामा ७५ करोड ५३ लाख ९० हजार आठ सय रुपियाँको बजेट सार्वजनिक भएको हो ।

सम्बन्धित समाचार