उच्च रक्तस्रावले सुत्केरीको मृत्यु



जाजरकोट । अत्याधिक रक्तस्रावका कारण जाजरकोटको कुशे गाउँपालिका–५ जरगाउँमा सुत्केरीको मृत्यु भएको छ। सोमबार बिहान ७ बजे घरमै सुत्केरी भएकी कुशे गाउँपालिका–५ जहरगाउँकी ३० वर्षीया नारायणकली रोकायको रक्तस्राव नरोकिदा पाँच घण्टा पछि मृत्यु भएको हो । समयमा भरपर्दो प्रसूति सेवा पाउन नसक्दा उनको ज्यान गएको हो ।

समयमै सालनाल नखसेर नारायणकलीको मृत्यु भएको पति जयबहादुर रोकायले बताए । नारायणकलीको ४ घण्टासम्म साल खसेको थिएन उनले भने–‘घरमै सामान्य अवस्थामा सुत्केरी भएकी उनको सालनाल नझरेपछि स्थानीय मेडिकलमा लग्यौ । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको सहयोगमा सालनाल त निक्लियो तर रक्तस्राव रोकिन नसक्दा नारायणकलीको ज्यान जोगिन सकिएन ।’

उनका यस अघि दुई छोरी र एक छोरा थिए । चौथो सन्तान छोरा जन्माई सकेपछि नारायणकलीको ज्यान गएको हो । नवजात शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

सदरमुकाम खलंगादेखि एक दिनको पैदल दुरीमा रहेको जहर गाँउ नजिक भरपर्दो स्वास्थ्य सुविधा नहुँदा उनी घरमै सुत्केरी हुन बाध्य भएकी थिइन् । नजिकमा सुविधा सम्पन्न स्वास्थ्य संस्था भएको भए श्रीमतीलाई बचाउन सकिने थियो तर के गर्नु दुर्गमको पीडा श्रीमान जयबहादुरले भने–‘सानो बच्चा कसरी स्याहारु ? अरु ठूला बच्चाको लालनपालन कसरी गरुँ, मेरो जस्तो बर्जपात कसैलाइ नपरोस् ।’

सम्बन्धित समाचार